पूर्वाधार आयोजना थपिन्छन्, थपिँदैन बजेट
मेलम्ची खानेपानी
काठमाडौंमा पानी ल्याउन भन्दै ०५५/५६ सालबाट मेलम्ची खानेपानीको काम सुरु गरिएको थियो । उपत्यकाको विद्यमान खानेपानी समस्या समाधान गर्न चरणबद्ध रूपमा दैनिक ५१ करोड लिटर पानी उपलब्ध गराउने लक्ष्य राखिएको थियो । अहिले सामान्य मर्मतका भरमा मेलम्चीको पानी काठमाडौं ल्याइएको छ ।
२६ किमि सुरुङमार्फत सुन्दरीजलमा पानी ल्याएर वितरण गर्ने गरिएको छ । मेलम्ची खानेपानी विकास समितिको जिम्मेवारी हेडवर्क्स, सुरुङ निर्माण र सुन्दरीजलमा पानी प्रशोधन गर्ने हो । उपत्यकामा पानी ल्याइसकेपछि त्यसलाई आवश्यक संरचना बनाएर वितरण गर्ने काम मेलम्ची उपआयोजना–२ ले गर्छ । अहिले पहिलो चरणमा मेलम्ची नदीबाट डाइभर्सन गरेर १७ करोड लिटर पानी ल्याउने गरिएको छ । दोस्रो र तेस्रो चरणमा यांग्री र लार्के खोलाबाट थप १७/१७ करोड लिटर पानी ल्याउने लक्ष्य छ । यसअनुसार तीन चरण गरेर ५१ करोड लिटर पानी काठमाडौं आउनेछ । अहिलेसम्म समितिमार्फत ३१ अर्ब ८८ करोड र उपआयोजनाअन्तर्गत ३४ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।
पूर्व–पश्चिम विद्युतीय रेलमार्ग
०६५/६६ बाट सुरु पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति भने एकदमै न्यून छ । रेलमार्गका लागि सरकारले झापामा २ हजार ४ सय ५७, मोरङमा १ हजार ६ सय ३८ र सुनसरीमा १ हजार ३ सय २९ कित्ता गरी ५ हजार ४ सय २४ कित्ताका सयौं बिघा जग्गा रोक्का राखेको छ । अहिलेसम्म मुआब्जा दिने टुंगो छैन ।
रेलमार्ग झापाको काँकडभिट्टाबाट सुरु भई पश्चिमको कञ्चनपुरस्थित गड्डाचौकी जोड्ने लक्ष्य हो । सुरु अध्ययनअनुसार पूर्व–पश्चिम रेलमार्गको दूरी ९४५ किमि थियो । अहिले निकुञ्ज क्षेत्रको रेखांकन परिवर्तन हुँदा दूरी घटेर ९२५ किमि पुगेको छ । जयनगर–जनकपुर–कुर्था–बिजलपुरा–बर्दिबास खण्डको ६९ किमिमध्ये ५२ किमिमा रेल चलेको छ । यसको अन्तिम बिन्दु पूर्व–पश्चिम विद्युतीय रेलमार्ग हो ।
बर्दिबासदेखि सर्लाही, रौतहट, बारासम्मको ७० किमि दूरीमा नेपाल सरकार आफैंले संरचना बनाइरहेको छ । यसअनुसार ६५ किमिमा ट्र्याक बेल्ट निर्माण गरिएको छ । अहिलेसम्म भौतिक प्रगति ३ प्रतिशत छ भने २५ अर्ब ६८ करोड लाख रुपैयाँ खर्च भइसकेको छ । यो बर्दिबास खण्डमा मुआब्जा वितरणसहितको खर्च भएको विभागले जनायो । सम्भाव्यता अध्ययनअनुसार समग्र रेलमार्गको निर्माण लागत ६ खर्ब ५५ अर्ब रुपैयाँ लाग्नेछ ।