गरिबी निवारणमा चिनियाँ विधिहरु
चीनमा गरिबी निवारणका कार्यक्रम सी चिनफिङले सुरु गर्नु भएको होइन। सुधार तथा खुलापन सुरु गरेको ४० वर्षमा करीब ८० करोड जनतालाई चीनले गरिबीबाट मुक्त गराइसकेको छ। तर,गरिबी निवारणलाई सटिक लक्ष्यका साथ अगाडि बढाउने काम र वर्तमानको ठोस उपलब्धि चाहिँ सी चिनफिङकै नेतृत्वमा संभव भएको हो।
१९ औँ शताब्दीसम्म चीन विश्वअर्थतन्त्रमा विशाल र समृद्ध उत्पादकहरूमा अग्रणी स्थानमा रहँदै आएको थियो। चिनियाँ अर्थतन्त्रले चीनको मात्र समृद्धिलाई नबोकेर छिमेकी देशहरूलाई पनि समृद्ध बनाउने गरेको इतिहास जगजाहेर छ। सन् १८४० पछि, क्रमशः पश्चिमी शक्तिहरूको आक्रमण र लुटपाटका कारण, चीन गरिब, कमजोर र निरिह अवस्थामा झरेको हो। सन् १९४९ मा जनगणतन्त्र चीन स्थापना हुँदा एक सय बर्षभन्दा बढीको युद्धका कारण चिनियाँ अर्थतन्त्र जरजर बनेको थियो भने ८० प्रतिशतभन्दा बढी चिनियाँ अति गरिबीको अवस्थामा थिए।
सो समयमा अमेरिकी तत्कालीन विदेश मन्त्री एचेसन डिनले ‘अमेरिका र चीन सम्बन्ध’ मा लेखेका थिए – ‘नयाँ चीन स्थापना हुँदा चीनसँग आफ्ना भोकमरीमा परेका ५० करोड नागरिकलाई खान दिन सक्ने क्षमता थिएन। त्यस्तो बेला चिनियाँ जनताको बाँच्ने र विकासको कल्पना गर्छन् भनेर कसैले सोचेको थिएन। तर चिनियाँ जनतासँग बाँच्ने र विकास गर्ने दृढ संकल्प यस्तो थियो जुन कसैले कल्पना गरेको भन्दा बाहिर थियो।’
चीनले आफ्नै राष्ट्रियताका आधारमा चिनियाँ विशेषतायुक्त गरिबी निवारणका सर्त र नवीन सिद्धान्त सिर्जना गरी कार्यान्वयन गर्न थाल्यो। संक्षेपमा भन्नुपर्दा गरिबी निवारणमा चिनियाँ सिद्धान्तका ऐतिहासिक पृष्ठभूमिमा तीनवटा मुख्य पक्षहरू छन्। वास्तविक अवस्था, अन्तर्राष्ट्रिय सहयोग र विकास रणनीति चीनले अवलम्बन गरेको गरिबी निवारणका तीनवटा मुख्य पक्षहरु हुन्।