तिब्बतको पर्यटकीय सम्भावनाबारे नेपाली पर्यटन व्यवसायीसँग छलफल
कार्यक्रममा छिङ्गहाइस्थित युसु स्नो लेपड टाभल कम्पनीको अध्यक्ष काङ्ग छिछाङ्गले पश्चिम चीन हेर्न र बुझ्न युसु पुग्नुपर्ने बताउनुभयो। उहाँले चीनको हान र तिब्तती जातिको संस्कृति, व्यापारको सङ्मस्थल रहेर चीनलाई र दक्षिण एशियासँग जोड्ने कोरिडोरको काम गरिरहेको उल्लेख गर्नुभयो। कला, संस्कृति, इतिहास रहेको युसुमा पर्यटकीय क्षेत्रको प्रचुर स्रोत रहेकाले त्यहाँको भ्रमण गर्न र लगानी गर्न उहाँले अनुरोध गर्नुभयो।
आयोजकका तर्फबाट उपप्रमुख डिकेश महर्जनले चीन भ्रमणमा जाने नेपालीको सङ्ख्या बढ्दै गएकाले प्रतिस्पर्धात्मक दरमा भ्रमण तालिका सार्वजनिक गरेको बताउनुभयो। उहाँले भ्रमणलाई विविधता दिन तिब्बती क्षेत्रलाई मुख्य भूमिका ठूला सहर पनि जोडिएको जानकारी दिनुभयो।
अहिले काठमाडौँबाट रसुवागढी नाका हुँदै धेरै सङ्ख्यामा पर्यटक मानसरोवर जाने गरेका छन्। हवाई मार्ग भएर पनि पर्यटक उल्लेख्य सङ्ख्यामा त्यहाँ पुग्ने गरेका छन् । मानसरोवार क्षेत्रमा पर्यटक व्यवस्थापनका लागि होटललगायत पूर्वाधार व्यवस्थित रहेको व्यवसायीको भनाइ छ।
छङ्तुमा विगत चार वर्षदेखि स्थापित नेपाल प्याभिलेनमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्दै आएको संस्थाले जनाएको छ । त्यहाँ नेपाली वाणिज्य दूतावास स्थापना भएसँगै कूटनीतिक सम्बन्ध विस्तारका साथै संस्कृति, पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुगेको छ । नेपालको थाङका र हस्तकलाका सामग्री छङ्तु जाने गरेका छन् । संस्कृति आदान प्रदान, व्यापार प्रवद्र्धन र पर्यटन प्रवद्र्धनका कामलाई दुवै मुलुकको बृहत साझेदारीबाट अगाडि बढ्नुपर्नेमा व्यवसायीको जोड छ ।