बिजुली आयात सम्झौता नवीकरणमा ३ महिनादेखि भारतको जवाफ आएन
भारतको इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धा गर्दै नेपालले बिजुली खरिद गर्दै आएको छ । यसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । यो बजारमा भाग लिन ०७८ वैशाखमा नेपालले अनुमति पाएको थियो । पाँच वर्षको यो अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्ने सर्त छ । हरेक वर्ष भारतले एक वर्षभरका लागि अनुमति नवीकरण गर्ने भए पनि पछिल्लो पटक भारतले म्याद सकिनुभन्दा तीन दिनअघि (०८० चैत १५) मात्रै तीन महिनाका लागि मात्रै नवीकरण गरिदिएको थियो ।
प्राधिकरणले ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ६५० मेगावाट र टनकपुर प्रसारण लाइनबाट ५४ मेगावाट बिजुली ल्याउन अनुमति मागेको थियो । तर भारतले ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ५ सय मेगावाट र टनकपुरबाट ५४ मेगावाट ल्याउने अनुमति दिएको थियो । यसअघि जुनसुकै बेलामा बिजुली आयात गर्न सकिने व्यवस्था भए पनि पछिल्लो पटक भारतले सोलार आवर (बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म) मा मात्रै बिजुली आयात गर्न पाइने गरी नवीकरण गरेको थियो ।
नेपालले भारतको प्रतिस्पर्धी बजारबाहेक महाकाली सन्धिअन्तर्गत टनकपुर प्रसारण लाइन र नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) बाट बिजुली आयात गर्न सकिने व्यवस्था छ ।
नेपालले महाकाली सन्धिअन्तर्गत टनकपुर प्रसारण लाइनबाट वार्षिक ७ करोड युनिट निःशुल्क बिजुली पाइन्छ । सन् २०२४ का लागि मार्च ११ मा बसेको पीईसी बैठकले प्रसारण लाइनको संरचनाअनुसार आयात–निर्यात हुने बिजुलीको प्रतियुनिट दर तोकिसकेको छ । उक्त मूल्य इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड र रियल मार्केटको तुलनामा सस्तो हुने प्राधिकरणले जनाएको छ ।
१३२ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आदानप्रदानको मूल्य प्रतियुनिट ७.९८ भारु (१२ रुपैयाँ ७७ पैसा) तोकेको प्राधिकरणले बताएको छ । यसमा आवश्यक परेका बेला भारतको बिहार, उत्तर प्रदेश र उत्तराखण्डबाट प्राधिकरणले बिजुली आयात गर्दै आएको छ । बिहारसँग कटैया (बिहार)–कुशवा (नेपाल) र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइन जोडिएका छन् । भारतको उत्तर प्रदेशसँग मैनहिया (नेपाल)–सम्पत्तिया (न्यु नौतनवा, भारत) जोडिएको छ ।