बिजुली आयात सम्झौता नवीकरणमा ३ महिनादेखि भारतको जवाफ आएन
हिउँद सुरु भएपछि खोला तथा नदीमा पानीको बहाव घटेर जलविद्युत् उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गरिँदै आएको छ । सामान्यतः डिसेम्बरको मध्य वा अन्तिमदेखि अपुग हुने बिजुली आयात गर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
कान्तिपुर अनलाइनका अनुसार हरेक वर्ष अपुग बिजुली भारतबाट आयात हुँदै आएको छ । त्यसका लागि भारत र नेपालबीच छुट्टाछुट्टै सम्झौता भएको छ । त्यसमध्ये भारतको प्रतिस्पर्धी बजारबाट ल्याइने बिजुलीको सम्झौता प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ ।
प्राधिकरणले यो सुक्खायाममा पनि भारतबाट अपुग बिजुली आयातका लागि सम्झौता नवीकरणको प्रक्रिया तीन–चार महिनाअघि नै सुरु गरेको हो । त्यसका लागि प्राधिकरणले भारतीय पक्षलाई पत्र पठाइसकेको छ । तर यतिका समय बितिसक्दा पनि भारतका तर्फबाट कुनै जवाफ नआएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो।
‘हामीले ३/४ महिनाअघि नै भारतको प्रतिस्पर्धी बजारबाट बिजुली आयातका लागि अनुमति नवीकरण प्रक्रिया सुरु गरिसक्यौं । तर उताबाट अहिलेसम्म नवीकरण भएको छैन,’ उहाँले भन्नुभयो, ‘तत्काल बिजुली आयात गर्नुपर्ने अवस्था पनि छैन, अझै समय बाँकी छ, ढिलोचाँडो भारतले नवीकरण गर्ला ।’
बर्खायाममा निर्यात भए पनि अझै केही वर्ष हिउँदमा बिजुली आयात गरेर नै आन्तरिक माग पूरा गर्नुपर्ने बाध्यता रहेको समेत घिसिङ बताउनुहुन्छ । यस वर्षका लागि आगामी डिसेम्बर मध्यदेखि बिजुली आयात गर्नुपर्ने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जनाउनुभयो।
भारत भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिउँदमा विद्युत् आयात गर्ने सम्झौता नवीकरणबारे छलफल भएको र यस विषयमा भारत सकारात्मक रहेको बताउनुभयो।
भारतले चौबीसै घण्टा बिजुली दिन नसक्ने भन्दै लोड हेरेर २० देखि २१ घण्टासम्म बिजुली दिने अनुमतिका विषयमा भारतमा छलफल भएको ऊर्जामन्त्री खड्काले जनाउनुभयो। प्राधिकरणले भने चौबीसै घण्टा आवश्यकताअनुसार विद्युत् आयात गर्न दिन माग गरेको थियो ।