काठमाडौंमा ऊर्जा प्रणाली प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु, १५ देशका ऊर्जा विशेषज्ञ सहभागी
विश्वभरका इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक इन्जिनियरहरुको संस्था आई-ट्रिपल ईको पावर एन्ड इनर्जी सोसाइटी (पीईएस)को आयोजनामा ऊर्जा प्रणाली प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।
पीईएसको नेपाल च्याप्टरको सहआयोजनामा भएको यो सम्मेलनमा १५ देशका करिब १०० प्रतिनिधि सहभागी रहेको सम्मेलनको प्राविधिक समितिका कोचेयर डा. सुजन अधिकारीले जानकारी दिनुभयो। पावरकन नामले चिनिने यो सम्मेलन ऊर्जा प्रणालीसम्बन्धी विश्वकै ठूलोमध्येको कार्यक्रम मानिन्छ ।
अनलाइनखबरका अनुसार तीन दिनसम्म चल्ने सम्मेलनमा उर्जा प्रणालीसम्मबन्धी ७७ वटा पेपरहरु प्रस्तुत हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै आई ट्रिपल ई- पावर एन्ड इनर्जी सोसाइटीकी पूर्वअध्यक्ष जेसिका बियानले यो सम्मेलनले उर्जा क्षेत्रमा अहिले भइरहेका र भोलि हुने परिवर्ननले भविष्यको पुस्तालाई कसरी लाभान्वित बनाउन सकिन्छ भन्ने विषयलाई दिशा निर्देश गर्ने बताउनुयभयो। यो संसारभरिका इलेक्ट्रिकल इन्जिनियरहरूलाई जोड्ने महत्वपूर्ण कार्यक्रम भएको उहाँले बताउनुभयो।
अष्ट्रेलियन इनर्जी मार्केट अपरेटरका रणनीतिक सल्लाहकार डिन सर्राफीले अहिलेको विश्व उर्जा संक्रमणको चौबाटोमा रहेको बताउनुभयो। ‘आधुनिक ऊर्जा प्रणालीले नवीकरणीय उर्जालाई उच्चस्तरमा निरन्तर रुपमा एकीकृत गर्दै लगेको छ र यो विकासका कारण विभिन्न चुनौतीहरु पनि सामना गरिरहेको छ, ‘ उहाँले भन्नुभयो, ‘हामी केन्द्रीकृत उर्जा स्रोतबाट उपभोक्ता उर्जा स्रोततर्फ अघि बढेका छौँ ।’
यस्ता परिवर्तनबारे जान्न र भोलिको भविष्यमा के गर्ने भन्नेबारे छलफल गर्न यो सम्मेलन महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो।