बेइजिङमा पनि म्हःपूजा मनाइयो
मूलतः मानिसको आत्मानै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा रहँदै आएको देखिन्छ। साथै म्हःपूजाले भगवान आफूभित्रै हुने भएकोले अन्त खोज्न जानुपर्दैन भन्ने सन्देश पनि बोकेको छ। यसकालागि आफ्नो प्रतिकात्मक स्वरूप (मण्डः) मण्डलमा चित्रण गरी परिवारका सबै सदस्यहरूसँग एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्वित गरी आफैँले आफ्नो पूजा गर्ने गरिन्छ। यद्यपि घरपरिवारबाट टाढा रहेमा मूल घरमा म्हःपूजा गर्ने बेला सम्बन्धित व्यक्तिको नाममा मण्डप बनाई पूजा गर्ने चलन रहँदै आएको छ।
यस्तै अनुभव र वातावरणको सम्झनामा यसपटक पनि बेइजिङमा केही साथीभाइ मिलेर म्हःपूजा मनाएका हुन्। ख्हपै प्रान्त पाओतिङ सहरबाट फुड साइन्टिस्ट तथा खपै एग्रिकल्चर युनिभर्सिटीका एशोसिएट प्रोफेसर विमल चित्रकार पनि दुई घण्टा बढीको यात्रा गरी म्हःपूजा मनाउन पुगेका थिए। ‘वर्ष दिनमा आउने चाड साथीभाइसँग मिलेर मनाउन पाउनु सानो कुरा होइन’, उनले भने, ‘यसपटक त शनिबार परेकोले सजिलो भयो अझै, सबैसँग भेटघाट र आफ्नो चलन पछ्याउन पाउनु सौभाग्य नै मान्नुपर्छ।’ उनी नेवारी परम्पराको सगुन (खेँय सँग) सौभाग्यको प्रतीक मान्छन्। ‘यसरी खेँय सँग नयाँ वर्षको पहिलो दिन लिनपाउनु सौभाग्यको प्रतीक हो। आगामी दिनमा अझै बृहत् रूपमा मनाउन सकोस्,’ उनले भने।
राकेशकी पत्नी सबिना भने खेँय सँगलगायत पूजा सामग्री तयार गर्न समय लाग्ने भएकोले धेरै मान्छे जम्मा हुँदा व्यक्तिगत तवरमा गर्न गाह्रो हुने हो कि शंका व्यक्त गर्छिन्। ‘यसरी हामी १/२ परिवार मिलेर मात्र सबैलाई सामेल गर्न गाह्रै हुन्छ नि, काम गर्न सजिलो छैन नि’, उनलाई सही थप्दै राकेश भन्छन्, ‘त्यो प्रश्न त छँदैछ नि, तापनि अहिले तेस्रो वर्ष भइसकेको छ, समूह पनि ठूलो हुँदैछ, केही उपाय होला नि।’
यसपटक तीस वर्षभन्दा अघिदेखि बेइजिङमै बस्दै आएकी नम्रता पाण्डे पनि म्हःपूजामा सरिक भएकी छिन्। ‘सबिनाले अघिल्ला वर्षमा मनाएको थाहा थियो र हाम्रै परम्परा र आफ्नै शरीरको पूजा गर्ने कुरा सुनिरहेकै थिएँ, त्यसकारण यसपटक भाग लिएँ, रमाइलो पनि लाग्यो’ उनले भनिन्।