बेइजिङमा पनि म्हःपूजा मनाइयो
बेइजिङमा बसोबास गर्दैआएका नेपाली नेवार समुदायले शनिबार उनीहरूले मनाउने म्हःपूजा पर्व मनाएका छन्। बेइजिङमा केही परिवार तथा विद्यार्थीहरू भेला भएर म्हःपूजा तथा नेपालको मौलिक संवत् मनाएको हिमालप्रेसले लेखेको छ।
नदी नाला र हिमालद्वारा जोडिएको नेपाल र चीनबीच प्रागैतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहिआएको छ। बुद्धभद्र तथा फास्यानजस्ता भिक्षुहरूले चारौँ शताब्दीमा कोरेको बाटोलाई पछिल्ला कालमा राजकुमारी भृकुटी, बहुप्रतिभाशाली कलाकार अरनिकोलगायत धेरैले दुई देशबीचको सम्बन्धलाई फराकिलो बनाउन योगदान दिएका थिए।
वर्तमान समयमा पनि अरनिकोको पदचापमा हिँड्दै चीन पुगेका नेपाली प्रतिभाहरू अनगिन्ती छन्। यसरी चीनमा अध्ययन, अनुसन्धान तथा रोजगारका लागि पुगेका नेपालीहरूले वर्षभरिमा आउने नेपाली चाडबाड आफ्नो गछेअनुसार तथा समयअनुकूल मनाउने गरेका छन्।
दसैँतिहारलगायतका चाडपर्व नेपाली परिवारले आफ्नो घरबाहेक भेला भई मनाउने गरेका पनि छन्। विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले यस्ता पर्वहरूमा कार्यक्रमको आयोजनासमेत गर्ने गरेको पाइन्छ। तापनि सीमित कार्यक्रम, समयको प्रतिकूलता तथा निकै कम संख्यामा रहेका नेपाली बीचको पातलो भेटघाट हुँदा भव्य र विशाल रूपमा मनाउन सकेको देखिँदैन।
यसरी नेपालीकै संख्या कम भएको ठाउँमा नेपालका अरू समुदायको उपस्थिति भए तापनि नगन्य हुने नै भयो। यस क्रममा नेवार समुदायका मानिस पनि छन्, तर के कति छन् र कहाँ कहाँ छन् यसको खोजी पनि भएको छैन। तापनि विगत तीन वर्षदेखि नयाँ नेपाल संवत् तथा नेवार समुदायले मनाउने म्हःपूजा भने बेइजिङमा मनाउँदै आएको छ।