चिनियाँ कम्पनीको पनि सहभागितामा निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्ग ७ वर्षमा ३६ प्रतिशत निर्माण
प्याकेज नं. ३ अन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने लेन डाँडामा रहेको जोडी सुरुङ निजगढबाट काठमाडौँतर्फ आउने १ हजार ६१२ मिटर लामो सुरुङ मार्ग असारमा र काठमाडौँबाट निजगढतर्फ जाने १ हजार ६३३ मिटर लामो सुरुङ जेठमा छिचोलिसकेको थियो ।
प्याकेज नं. ४ अन्तर्गत एक हजार मिटर लम्बाइको देवी चौर सुरुङ र प्याकेज नं। ५ अन्तर्गतको ३९० मिटर लम्बाइको सिसौटार सुरुङको खरिद सम्झौता सम्पन्न भई डिजाइनको क्रममा रहेको नेपाली सेनाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै प्याकेज नं ६ अन्तर्गतको २ हजार २५० मिटरको चन्द्रामा भीर सुरुङको पोर्टल तयारीको कार्य भइरहेको छ ।
आयोजना अन्तर्गत रहेका जम्मा ८९ स्थानमा रहेका पुलहरू मध्ये ८५ स्थानका पुलहरू निर्माणको लागि खरिद सम्झौता सम्पन्न भएको छ । हालसम्म मकवानपुरको राजदमार इलाकामा ५ वटा पुलहरूको निर्माण कार्य सम्पन्न भएको छ । अन्य स्थानमा ८१ मिटरसम्म उचाइ रहेका विभिन्न प्रकृतिका पुलहरूको संरचना निर्माण भइरहेको नेपाली सेनाले जनाएको छ ।
जग्गा अधिग्रहण। स्वीकृत वातावरण प्रभाव मूल्याङ्कन (इआइए) तथा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन [एसइआइए] बमोजिम आयोजना निर्माणका लागि जम्मा करिब १७ हजार ६५१ रोपनी जग्गा अधिग्रहण आवश्यक मध्ये व्यक्तिगत जग्गा ५ हजार ४८७ रोपनी छ।
हालसम्म ३१ हजार ९५० वटा रूखहरू कटान भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८० पुस १२ गतेको निर्णय अनुसार कटान स्वीकृति पाएका विभिन्न प्रजातिका ४ हजार ३४५ रुखहरू मध्ये हालसम्म ३ हजार ३३५ रुख कटान गरिएको छ । कटान गरिएका रुखहरूको बदलामा हालसम्म ७ लाख ५ हजार ५५२ बिरुवा रोप्ने कार्य सम्पन्न भइसकेको नेपाली सेनाले आफ्नो वेब साइड मार्फत जानकारी दिएको हो ।
निर्माणको क्रममा रेखाङ्कन अनुकूलन तथा परिमार्जित डिजाइन बमोजिम पूर्व निर्धारित मार्गाधिकार भन्दा बाहिरको थप जग्गा अधिग्रहण तथा रुख कटानको लागि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति गर्ने गरिएको उल्लेख छ । द्रुतमार्गको २६ किलोमिटर देखी ३५ किलोमिटरमा पर्ने महादेवटार, धोद्रे र लेनडाँडा खण्ड तथा ४९ किलोमिटर देखी ७० किलोमिटरसम्म पर्ने राजदमार, बागदेव र निजगढ खण्डको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार २०८० पौष १२ गते जग्गा अधिग्रहण तथा रुख कटान स्वीकृति प्राप्त गरि कटान सम्पन्न भई बारा तथा निजगढ जिल्लामा कटान भएका रुखहरू सम्बन्धित वन कार्यालयहरूमा हस्तान्तरणको भइसकेको छ ।