चिनियाँ कम्पनीको पनि सहभागितामा निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्ग ७ वर्षमा ३६ प्रतिशत निर्माण
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेस द्रुतमार्गको प्रगति सात वर्षमा ३६.४२ प्रतिशत देखिएको छ। चीनका ६ वटा फरक–फरक कम्पनीलाई दिइएको ठेक्कामा नेपाली निर्माण व्यवसायीको सहकार्य छ ।
आयोजना निर्माणको काम चालु आर्थिक वर्ष २०८१–८२ को त्रैमासिक अर्थात् असोज मसान्तसम्म भौतिक प्रगति ३६ दशमलव ४२ प्रतिशत रहेको नेपाली सेनाका सहायक रथी एवम् सूचना अधिकारी गौरव कुमार केसीले जानकारी दिनुभयो । काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको मोबिलाइजेसन सहित वित्तीय प्रगति भने ३८.५५ प्रतिशत छ।
आयोजनाको समष्टिगत कार्य योजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजहरू मध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८ क, ८ ख, ९ क, ९ ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ । प्याकेज नं ११ अन्तर्गत पर्ने खोकना–बुङ्गमती खण्डमा जग्गा अधिग्रहण सम्बन्धी समस्या साथै द्रुतमार्गको शुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन निर्णय बाँकी रहेकोले खरिद प्रक्रिया शुरु हुन बाँकी रहेको सूचना अधिकारी केसीले जानकारी दिनुभयो।
आयोजना अन्तर्गतका जम्मा ६ वटा सुरुङ्गमार्गको कुल लम्बाइ १० दशमलव ३०९ किलोमिटर रहेको छ । नेपाली सेनाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुरुङ मार्गको प्याकेज नं १ अन्तर्गत महादेवटार सुरुङको जम्मा लम्बाई ३ हजार ३५५ मिटरमध्ये दायाँ टनेल ३ हजार ३२२ मिटर मध्ये २ हजार २९ मिटर अर्थात् ६१ प्रतिशत खन्ने काम सम्पन्न भएको छ । बायाँ टनेल ३ हजार ३८६ मिटर मध्ये २ हजार २८८ मिटर अर्थात् ६८ प्रतिशत खन्ने काम सकिएको गोरखापत्र अनलाइनमा खबर छ।
प्याकेज नं २ अन्तर्गत धोद्रे सुरुङ मार्गको जम्मा लम्बाइ १ हजार ६९१ मिटरमध्ये बायाँ टनेलको १ हजार ७२८ मध्ये १ हजार ६४२ अर्थात् ९५ प्रतिशत खन्ने काम भएको छ भने निजगढबाट काठमाडौँतर्फ जाने दायाँ टनेल १ हजार ६५३ मिटर लामो सुरुङ ११ जेठमा छिचोलिएको [ब्रेक थ्रु भएको] थियो ।