चरा हेर्न चितवन
चरा हेर्न धेरै स्वदेशी तथा विदेशी चितवन पुग्छन् । विविध चराको बासस्थान चितवन ग्रासल्यान्ड, वनजंगल, पानी र फामल्यान्डका चरा अवलोकन लागि देशकै उत्कृष्ट स्थल बनेको छ । नेपालमा हालसम्म ८ सय ९६ प्रजातिका चरा पाइएको रेकर्ड छ । चितवनमा मात्रै ६ सय ६४ प्रजातिका चरा पाइने रेकर्ड रहेको चराविद् हठन चौधरीले बताउनुभयो। अर्का चराविद् टीकाराम गिरीले पनि चितवनमा ६ सय ५५ भन्दा बढी चरा पाइएको अभिलेख रहेको जानकारी दिनुभयो।
चौधरीका अनुसार चितवन राष्ट्रिय निकुञ्जभित्र मात्रै ६ सय प्रजातिका चरा पाइएको रेकर्ड छ । यहाँ हिउदे आगन्तुक २ सय ९, ग्रीष्म आगन्तुक ३६, बटुवा प्रजातिका ८ र कहिलेकाहीं आउने २८ प्रजातिका चरा पाइने जाइएको छ। त्यस्तै रैथाने र स्थानीय रूपमा बसाइँसराइ गर्ने ३ सय ८३ प्रजातिका चरा चितवनमा पाइने उहाँको भनाइ छ ।
चितवनमा विश्वमै दुर्लभ २९ प्रजाति र राष्ट्रिय रूपमा दुर्लभ एक सय २२ प्रकारका चरा पाइन्छन् । यहाँ नेपालको संरक्षित पन्छीहरू ९ मध्ये ६ वटा राजधनेश, सानो खरमुजुर, खरमुजुर, सारस, सेतोकण्ठे गरुड र कालो गरुड पाइन्छन् । देशका विभिन्न भागबाट समेत चरा चितवन आसपास प्रजनन गर्न आउने गरेको चराविद्हरू बताउँछन् ।
कान्तिपुर अनलाइनका अनुसार तराईको समथर फाँटदेखि महाभारत शृंखलासम्मको हावापानीका चरा यहाँ पाइन्छन् । नेपालमा चितवनमा मात्रै भेटिने ६ प्रजातिका चरा छन्। ५ प्रजातिका घाँसे चरा हुन् । भ्याकुर प्रजातिको ‘खडाइ भ्याकुर’ चितवनमा मात्रै पाइएको रेकर्ड छ । विश्वमै दुर्लभ यो भ्याकुरका अन्य प्रजातिभन्दा मसिनो, घुम्रिएको कालोकालो ठोंड, फ्रुसो खैरो कान ढकनी, सेतोसेतो कण्ठ र गाढामैलो तल्लो भाग रहेको यो सुन्दर चरा हो ।
विश्वमै दुर्लभ ‘घेघरीघाँसे फिस्टो’ पनि चितवनमा मात्रै पाइन्छ । जंगल नजिकका घाँसे मैदानमा बस्ने यो चरा मैलो सुन्तला रंगको आँखीभौं, निख्खर नीलो फुस्रो तालु र पिठ्युँ तथा ढाड बढी कालो खैरो देखिने मनमोहक पन्छी हो । ‘कैलोकण्ठे तोरीगाडा’ र ‘घेघरीझाँडी फिस्टो’ चरा पनि यहाँ मात्रै पाइन्छन् । ‘कटुसवनद माटीकोरे’ र ‘सिम्लिकाने लियो चुच्ला’ पनि यहाँ मात्रै पाइन्छन् । सिम्लिकाने चुच्ला चरा चितवनको उपरदाङगढीमा देखिएको थियो ।