चरा हेर्न चितवन
त्यस्तै ‘नर्कट भ्याकुर’ चितवन र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्र पाइन्छ। पहेंलो ठोड, आँखीभौं, कण्ठ र छाती फ्रुस्रो, हल्का कलेजी रंगको खुट्टा र औंला भएको यो चरा विश्वमै दुर्लभ मानिन्छ । त्यस्तै नेपालमा विरलै देखिने ‘काँसेघाँस चरी’ चितवनमा धेरै मात्रामा पाइन्छ । विश्वमै दुर्लभ ग्रीष्म आगन्तुक यो चराले झाँडी भएको अग्लो घाँसका मैदान मन मराउँछ । बच्चा कोरल्ने समयमा यो प्रजातिका भालेले करिब २० मिटरभन्दा माथि उडेर गीत गाउँदै आफ्नो प्रजनन क्षेत्रमाथि फराकिलो गरी उड्ने र विस्तारै तल झर्ने दृश्य निक्कै मनमोहक हुन्छ ।
तराई क्षेत्रमा सबैभन्दा बढी जैविक विविधता भएको उपत्यका चितवन हो । चितवन संस्कृति, सुन्दरता र जैविक विविधताको सम्मिश्रण स्थल रहेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताउनुभयो। त्यहाँ तराईदेखि हिमाली चरा देखिने उहाँको भनाइ छ । हिमनदी पग्लेर आउने, महाभारत र चुरेबाट आएको नारायणी नदी, राप्ती नदी र रिउ खोलाले सिञ्चित चितवनको जस्तो जैविक विविधता अन्यत्र विरलै पाइने उहाँले बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्ज वरिपरिका राप्तीनदी, लामीताल, तमोर ताल, बीसहजारी ताल, कसरा, गोलाघाट र त्रिवेणीलगायत क्षेत्र चराका लागि महत्त्वपूर्ण गन्तव्य हुन् । बरन्डाभार क्षेत्रको बाटुली ताल, दिब्यनगर, गढीसिराइचुली र चुरिया क्षेत्र पनि चरा अवलोकन गर्न आउने पर्यटकका लागि आकर्षणमा पर्छन् ।