स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्ने अभियानमा महिला उद्यमी
कोसेली घरमा बिक्रीका लागि राखिने अर्गानिक खाद्यवस्तु तथा हस्तकलाका सामग्री जिल्लाका विभिन्न ठाउँबाट सङ्कलन गर्ने गरिएको जनाइएको छ। डालो, नाङ्लो, फिपी नुनथला, रुभुङ, खाल्ले, काठको चिन्डो लफ्याङ, कोक्रो र थुन्से खार्मी, बाक्सिला, भिरमौरी मह सुङ्देल, मर्चा नुनथला र रुभुङ, राडीपाखी नेर्पा, सिस्नोको धुलो दिक्तेललगायत ठाउँबाट सङ्कलन गर्ने गरिएको जनाइएको छ।
स्थानीय उत्पादनलाई थप प्रवर्द्धन गर्दै व्यावसायीकरण गर्न काठमाडौँस्थित पके कलेक्सनसँग सहकार्य गरिएको अध्यक्ष राईले जानकारी दिनुभएको छ। कोसेली घरमा सङ्कलन भएका अर्गानिक खाद्यवस्तु तथा हस्तकलाका सामग्री पके कलेक्सनले खरिद गरेर बिक्री गर्दै आएको उहाँले बताउनुभयो।
कोसेली घर सञ्चालनका लागि नगरपालिकाले महिला उद्यमीलाई निःशुल्क तालिम तथा औजार उपलब्ध गराएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभयो। “स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्न नगरपालिका आफैँ पनि लागिपरेको छ। महिला उद्यमीले पनि व्यावसायिक बन्ने उद्देश्यसहित अभियान थालेका छन्। नगरपालिकाको तर्फबाट गर्नुपर्ने सबै प्रकारका सहयोग उपलब्ध गराउँछौँ। यसमा सबैको सहकार्य आवश्यक छ”, उहाँले भन्नुभयो।
कोसेली घरले उचित मूल्यमा स्थानीय उत्पादन खरिद गर्न थालेपछि कृषक तथा उद्यमी लाभान्वित भएका छन्। यहाँ उपलब्ध खाद्यवस्तु तथा सामग्री सुपथ मूल्यमा पाउने गरिएकाले उपभोक्तालाई समेत सहज भएको छ।