स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्ने अभियानमा महिला उद्यमी
खोटाङका ग्रामीण भेगमा बसोबास गर्ने अधिकांश नागरिकको भान्छामा गुन्द्रुक, किनीमा र सिस्नो तथा कोदोको ढिँडो र मकैको च्याख्ला अवश्य पाक्छ। अचेल त सहर बजारमा बसोबास गर्ने मानिसले पनि यी वस्तुको खोजी गर्न थालेका छन्।
ग्रामीण भेगमा उत्पादन गरेका अर्गानिक खाद्यवस्तु तथा हस्तकलाका सामग्री सहर बजारमा खोजी हुन थालेसँगै व्यवसायीकरण गर्ने अभियान पनि सुरु भइरहेका छन्। महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष विमला राईले पहिले गरिबको भान्छामा पाक्ने खाद्यवस्तु अचेल धनि परिवारको समेत रोजाइमा पर्न थालेपछि यस्ता अभियान भइरहेका बताउनुभएको राष्ट्रिय समाचार समितिले लेखेको छ। “पहिलेपहिले गुन्द्रुक, किनी र सिस्नो तथा कोदोको ढिँडो र मकैको ठेप्ला गरिबको भान्छामा पाक्ने खानेकुरा भनेर चिनिन्थ्यो। अहिले यसको महत्व र फाइदाका बारेमा धेरैलाई जानकारी भएको छ”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा उत्पादन हुने अर्गानिक खाद्यवस्तु तथा हस्तकलाका सामग्री उत्पादकलाई व्यावसायिक बनाउँदै बजारीकरण गर्ने अभियानमा हामी लागेका छौँ।” त्यसका लागि दिक्तेल बजारमा ‘खोटाङ उद्यमी कोसेली घर’ नामको बिक्री केन्द्र स्थापना गरेर सेवा दिन थालिएको उहाँले जानकारी दिनुभयो। अध्यक्ष राईले स्थापनाकालमा रु सात हजारदेखि सुरु गरिएको कोसेली घरको लगानी अहिले रु २० लाख बढीको भएको बताउनुभयो।
विसं २०८० साउनमा दर्ता गरेर असोजमा दिक्तेलस्थित रत्नपार्कमा स्थापना गरिएको कोसेली घरमा गुन्द्रुक, किनिमा, सिस्नोको धुलो, कोदो तथा फापरको पिठो, मकैको च्याख्ला, कहत, कालो दाल, सिमीलगायत खाद्यवस्तु बिक्रीका लागि राखिएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा स्थापना गरिएको कोसेलीघरमा राँगाको सुकुटी, अचार तथा अचारजन्य वस्तु, भिरमौरी तथा घर मौरीको मह, गाई, भैँसी तथा भेडाको घ्यू, कोलमा पेलेको तोरीको तेल, अकबरे खुर्सानीको अचार, घरेलु जाँड तथा रक्सी उत्पादनमा प्रयोग हुने मर्चा, जडीबुटीजन्य वस्तुका साथै हस्तकलाका घरेलु सामग्री बिक्रीका लागि राखिएको जनाइएको छ।