दुई सातामा थपियो साढे चार लाख हेक्टरमा रोपाइँ
जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि मनसुन केही दिन क्रमशः निष्क्रिय हुँदै जाने र मुलुकका अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । न्यूनचापीय रेखा क्रमिक रूपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई वर्षा कम हुने जनाएको छ । यसले पनि रोपाइँमा थप प्रभाव पार्न सक्ने जानकार बताउँछन् । ‘पहाडी क्षेत्रमा धान रोपाइँका लागि पानी पुगेकै छ । अब मधेशमा पानी चाहिएको छ । मधेशमा पानी कति पर्छ भन्ने छ, पानी पर्यो भने रोपाइँ राम्रै हुन्छ,’ प्रवक्ता केसीले भन्नुभयो।
रोपाइँ कम हुँदा उत्पादन स्वतः घट्छ । फलस्वरूप आयातमै निर्भर हुनुपर्ने बाध्यता छ । आर्थिक वर्ष ०८०/८१ मा ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको भन्सार विभागको तथ्यांक छ । यो परिमाण गत आर्थिक वर्षको तुलनामा ४.३३ प्रतिशतले बढी हो । धान उत्पादन बढे पनि चालु आर्थिक वर्षको ११ महिनामा ८८ करोडको २१ लाख ७ हजार किलो धानको बीउ, ११ अर्ब ५५ करोडको ३० करोड ५३ लाख १० हजार किलो धान र ८ अर्ब ६९ करोडको ८ करोड २७ लाख ६९ हजार किलो चामल आयात भएको छ ।