मूल्य बढ्दा र माग घट्दा नेपालमा आयात घट्दै
मुलुकभित्र उत्पादित वस्तुको निर्यात नबढे पनि मुलुकको व्यापार घाटा निरन्तर घटेको छ । गत आर्थिक वर्ष ०७८/७९ को पहिलो ४ महिनाको तुलनामा चालु आर्थिक वर्ष ०७९/८० को यही अवधिमा व्यापार घाटा हरेक महिना घटेको भन्सार विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार आयातसँगै निर्यात प्रतिशत पनि घटेको छ ।
गत आवको पहिलो ४ महिनामा ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको बस्तु आयात भएको थियो । यसपल्ट आयात भएको वस्तुको मूल्य १८.०८ प्रतिशतले घटेर ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँमा झरेको छ । त्यस्तै, निर्यातमा ३३.३० प्रतिशतले कमी आएको छ । गत आवको साउनदेखि कात्तिकसम्म ८२ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा अहिले उक्त आँकडा ५४ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ । व्यापार घाटा पनि १५.८८ प्रतिशतले घटेको विभागले जनाएको छ । गत आवको पहिलो ४ महिनामा ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ घाटा रहेकोमा अहिले घटेर ४ खर्ब ७७ अर्ब १९ करोड रुपैयाँ मात्रै रहेको कान्तिपुर अनलाइनले जनाएको छ ।
विभागका महानिर्देशक कमल भट्टराईले घाटा कम हुनुको कारण अन्तर्राष्ट्रिय वस्तुको मागमा कमी र नेपालले केही वस्तुको आयात बन्देज रहेको बताउनुभयो। ‘मुद्रा सञ्चिति बढाउनलाई नै केही वस्तुको आयात बन्देज गरिएको हो, बन्देजले व्यापार घाटा पनि कम भएको छ,’ उहाँले भन्नुभयो, ‘सँगसँगै अन्तर्राष्ट्रिय वस्तुको मागमा पनि कमी भएको छ । केही स्वदेशी उत्पादन बढेकाले पनि माग कम भएको छ ।’
तीन महिनाको मात्रै तथ्यांक हेर्दा पनि आयात–निर्यातसँगै व्यापार घाटा पनि घटेको देखिन्छ । गत आवको साउनदेखि असोजसम्म ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँको वस्तु नेपाल भित्रिएकोमा यो वर्षको सोही अवधिमा ४ खर्ब ९९ करोड रुपैयाँ मात्रै छ । यो १६.२० प्रतिशतले कमी हो । त्यस्तै, निर्यातमा ३५.७१ प्रतिशतले घटेर ४१ अर्ब ८२ करोड रुपैयाँमा कारोबार खुम्चिएको छ । जसअनुसार व्यापार घाटा १३.१३ प्रतिशतले घटेर ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । व्यापार घाटा घट्नु सन्तोषजनक भए पनि निर्यात नबढ्नु सुखद नभएको जानकारहरू बताउँछन् । पछिल्लो ४ महिनाको व्यापारको चित्रणले मुलुक आर्थिक मन्दीतर्फ उन्मुख रहेको उनीहरूको दाबी छ ।