मल र सिँचाइ अभावले नेपालमा गतवर्षभन्दा कम रोपाइँ
नेपाल सरकारले यो वर्ष धान दिवसको नारा ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ तय गरेको थियो । सोहीअनुसार बुधबार तामझामका साथ दिवस मनाइरहँदा धेरैजसो किसानले मलबिनै रोपाइँ गरे। कतिपय स्थानमा सिँचाइ अभावका कारण रोपाइँ नै सुरु भएको छैन । यसको पुष्टि सरकारी तथ्यांकले पनि गर्छ । बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका अनुसार गत वर्षको तुलनामा यो वर्ष असार १० सम्म धान रोपाइँ १० प्रतिशतले घटेको कान्तिपुर अनलाइनले लेखेको छ। गत आर्थिक वर्ष ०७८/७९ को असार १० सम्म देशभर २७ प्रतिशत रोपाइँ सकिएको थियो । यस वर्षको सोही अवधिमा १७ प्रतिशत धान खेतमा मात्रै रोपाइँ हुन सकेको छ । हालसम्म प्रदेश १ मा ८.८५ प्रतिशत, वाग्मतीमा २५ प्रतिशत, गण्डकीमा १३.६ प्रतिशत, लुम्बिनीमा ८.६४ प्रतिशत, कर्णालीमा ४० प्रतिशत र सुदूरपश्चिममा २१ प्रतिशत रोपाइँ सकिएको केन्द्रले जनाएको छ ।
प्रदेश २ मा रोपाइँ नै सुरु हुन सकेको छैन । कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलले असार १४ सम्मको तथ्यांकअनुसार प्रदेश १ मा १७.९ प्रतिशत र वाग्मतीमा ३१ प्रतिशत रोपाइँ भइसकेको जनाउनुभयो । सबै प्रदेशमा पत्राचार गरिएको र १/२ दिनमै यकिन तथ्यांक आउने उहाँले बताउनुभयो । ‘सिँचाइ अभावले पश्चिमतिर धेरै खेतमा रोपाइँ भएको छैन । समयमै बीउ पनि तयार भएन,’ उहाँले भन्नुभयो, ‘मनसुन सक्रिय हुँदै छ । अब तीव्र गतिमा रोपाइँ हुन्छ ।’
मुलुकमा सबैभन्दा बढी मध्य, पूर्वी क्षेत्र र तराईमा बढी धान खेती हुन्छ । यो वर्ष अहिलेसम्म तराईमै रोपाइँ कम भएको छ । यसको प्रमुख कारण सिँचाइ अभाव हो । मनसुन पूर्वी क्षेत्रमा सक्रिय भए पनि पश्चिमी क्षेत्रमा अझै सक्रिय भइसकेको छैन । तराईको करिब २५–३३ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा छ । मुलुकको खेती प्रणाली मनसुनमै आधारित हुँदा रोपाइँ गर्न मनसुन कुर्नुपर्ने बाध्यता किसानलाई छ । महानिर्देशक पौडेल रासायनिक मलको असहजताका बाबजुद यति रोपाइँ हुनुलाई सकारात्मक नै मान्छन् ।