प्रधानमन्त्री रोजगार कार्यक्रमका कारण विकास निर्माणमा महिला सहभागितामा वृद्धि
सिरिजङ्घा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आवेदनमा परेकामध्ये २१२ जना रोजगारीका लागि छनोटमा परेका छन्। तीमध्ये ६३ महिला रहेको सिरिजङ्घा गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक हिमाल तिमिल्सिनाले बताउनुभयो। ताप्लेजुङको नौ स्थानीय तहमा ३०० महिला अहिले बाटो निर्माण, सिँचाइ, कुलो मर्मतमा सक्रियरूपमा दैनिक काम गर्न आएका छन्। सिदिङवा गाउँपालिकामा २२० पुरुष र ५३ महिलाले रु ५१७ का दरले दैनिक ज्यालामा सय दिनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगार पाइरहेको सिदिङवा गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक फूलमाया पन्दाकले बताउनुभयो।
यसैगरी मेरिङदेन गाउँपालिकामा २६२ पुरुष र ६१ महिलाले प्रधानमन्त्री रोजगारी पाएका छन्। मैवाखोलामा २१२ पुरुष र ६१ महिला, सिरिजङ्घा गाउँपालिकामा २०८ पुरुष र ६३ महिला, पाथीभरायाङवरक गाउँपालिकामा २५६ पुरुष र ६६ महिलाले रोजगारी पाएका छन्। त्यस्तै फक्ताङलुङ गाउँपालिकामा १२७ जनाले रोजगारी पाएका छन्। फुङ्लिङ नगरपालिकामा ११२ महिला र १६८ पुरुषाले रोजगारी पाएको फुङ्लिङ नगरपालिकाका रोजगार संयोजक सरिता लिङदेनले बताउनुभयो।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत निर्माण कार्यमा महिलाको सहभागिता हुन पाउँदा खुशी लागेको फुङ्लिङ गाउँपालिका–९ का हरिकला गुरुङले बताउनुभयो। विगतमा पुरुषमात्र निर्माण कार्यमा जाने, महिला घरकै काममा दिन बिताउने गरेकामा पछिल्लो समय महिलाले विस्तारै स्वरोजगार बन्दै गएको सिरिजङ्घा गाउँपालिका रोजगार संयोजक हिमाल तिमिल्सिनाले बताउनुभयो।
रासस