प्रधानमन्त्री रोजगार कार्यक्रमका कारण विकास निर्माणमा महिला सहभागितामा वृद्धि
पछिल्लो समय प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत हुने नेपालका विकास निर्माणका काममा पुरुषभन्दा महिला अब्बल हुन थालेका छन्। महिलाहरू साना सिँचाइ योजना, बाटो निर्माण खानेपानी योजना, भवन निर्माणमा सहभागी हुन थालेका राष्ट्रिय समाचार समितिले लेखेको छ। बिहान घरको काम सकेर दिनभर विकास निर्माणमा सहभागी हुदाँ महिलालाई ज्ञान र सीपका साथै आर्थिक उपलब्धि समेत हुने गरेको पाइन्छ।
ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का शिवमाया सिवालाई विगतका दिनमा चुलोचौकामै दिन बित्थ्यो। गाउँमा विकास निर्माणका काम त हुन्थ्यो, तर महिला जान पाउँदैनथे। आजभोलि बिहानै सबेरै उठेर चुलोचौको सकेर दिउँसोको खाजा बोकी विकास निर्माणको काममा जानु सिवाको दैनिकी हो। प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँमा विकास निर्माणको काम हुन थालेपछि यहाँका महिलाको दैनिकी फेरिएको हो। उहाँ भन्नुहुन्छ, “हामीले बाटो र कुलो बनाउने काम गरिरहेका छौँ। पुरुषको भन्दा छिटो गरिरहेका छौँ।” विकास निमार्णका सहभागी हुँदा ज्ञान र सीपका साथै ज्याला पाउँदा निकै खुसी लागेको सिवाको भनाइ छ। उहाँजस्तै ताप्लेजुङका ३०० महिला प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत विकास निर्माणमा प्रत्यक्ष काम गर्दै आउनुभएको छ।
सिरिजङ्घा गाउँपालिका–३ का लीला गौतमले गत आइतबार आफ्नै नाममा खोलेको बैंक खाताबाट पैसा निकालेको पहिलोपटक हो। उहाँ अहिले २६ वर्षको हुनुभयो। आइतबार उहाँले बैंकबाट तलब लिएको पहिलो दिन हो। गौतमले भन्नुभयो, “म अहिले २६ वर्ष पुगेँ, मैले कुनै बैंकमा खाता खोलेको थिइनँ। प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भयो। बैंकमा खाता खोल्नुपर्छ भनेपछि गाउँपालिकामा रहेको बैंकमा खाता खोलेँ। आज पहिलो महिनाको तलब रु १७ हाजर बैंकबाट निकालेँ।” उहाँ मात्र होइन, सिरिजङ्घा गाउँपालिकाका ६३ महिलाले आइतबार पहिलो माहिनाको तलब निकासा गरेका छन्।