#अल्पसंख्यक जाति# चिनियाँ अल्पसंख्यक जातिले कसरी "लाबा चे" चाड मनाउँछन्?
हिजो, जनवरी १० तारिख, विशेषगरी उतरी भागमा बस्ने चिनियाँहरूका लागि विशेष दिन थियो। चिनियाँ पात्रो अनुसार, बाह्रौँ महिनाको आठौँ दिनलाई "लाबा चे" चाड भनिन्छ। परम्परागत रीतिरिवाजमा त्यस दिनपछि वसन्त चाडको तयारी कार्य सुरू गरिने चलन छ। चीनमा यो "लाबा चे" चाड कसरी मनाइन्छ? चीनका अल्पसंख्यक जातिहरूले पनि यो चाड मनाउँछन् कि?
आजको कार्यक्रममा यस विषय बारे जानकारी दिने छु।
"लाबा चे" चाडमा हान र मान जातीय चिनियाँहरुले वर्षभरि उब्जाइएको चामल,दाल,मकै आदिको खोले बनाएर दाजु-भाइ,दिदी-बहिनी,इष्ट-मित्र र छर-छिमेकीहरुलाई खुवाउने चलन छ। मानिसहरुले त्यस खोलेलाई "लाबा चे" नामाकरण गरिदिएका थिए।
लाबा चे खोलेका विविध किसिमहरू छन्। परम्पराअनुसार, लाबा चे खोले बनाउन कम्तिमा आठवटा मुख्य सामग्रीहरु चाहिन्छन्। यसका लागि आवश्यक मुख्य सामग्रीहरुमा दलहनमा रातो दाल,मुङ,बोडी,सिमी,मटर,केराउ आदि छन् भने अनाजहरुमा कोदो, लेसिलो चामल, गहुँ, जौ, मकै,जुनेलो आदि छन्।
पानी हालिएको माटाको भाँडामा सामग्रीहरु मिलाएर राखी विस्तारैविस्तारै खोले पकाउनुपर्छ। पकाइसकिएको खोलेमा चिनी,मिस्री,मह आदि गुलियो पदार्थ हालेपछि त्यो खोले झन् मीठो र स्वादिलो हुन्छ।
लाबा चे चाड मनाउने रीतिरिवाज बौद्ध धर्मसित सम्बन्धित रहेको छ। उक्त बाह्रौँ महिनाको आठौँ दिन शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरेको दिन भएको विश्वास गरिन्छ।
यस सम्बन्धी कथाको सार यस्तो छ - शाक्यमुनिले बुद्धत्व प्राप्त गर्नुअघि धेरै वर्षसम्म भोकै योगाभ्यास गरे तापनि कुनै फल पाउन सकेका थिएनन्। भोकका कारण उनी एकदमै दुब्लाउँदै गएका थिए। त्यस बेला उनले नदी किनारमा गाई-गोरु चराइरहेकी एउटी केटीलाई भेट्छन्। ती केटीले घरबाट ल्याएको तीन-चार किसिमका चामल तथा अन्नको खोले उनलाई दिन्छिन्। खानेकुरा खाएपछि उनको स्वास्थ्य राम्रो हुन्छ। अनि उनी पिपलको बोटमुनि बसेर ध्यानमग्न हुन्छन्। अन्त्यमा बाह्रौँ महिनाको आठौँ दिन उनले बुद्धत्व प्राप्त गरेको विश्वास गरिन्छ।