#अल्पसंख्यक जाति# तिब्बतमा छजना विदेशीहरूको पहिलो अनुभव-3
चालू वर्ष तिब्बतको शान्तिपूर्ण मुक्तिको ७० औँ वार्षिकोत्सव हो। यसै अवसर पारेर हालसालै चाइना मिडिया ग्रुपका छ जना विदेशी पत्रकारले ल्हासाको भ्रमण गरेका छन्। हाम्रो विभागका अजय अलौकिकबाहेक अरू पाँचजनाले भने पहिलो पटक तिब्बतको यात्रा गरेका हुन्। तिब्बतमा उनीहरूले आफ्नो जीवनमा धेरै कुरा "पहिलोपटक" अनुभव गरेका छन्। पहिलाका कार्यक्रमहरूमा मैले भारत, पाकिस्तान, फिलिपिन्स र हाम्रो नेपाली विभागका पत्रकारको पहिलो अनुभवबारे जानकारी दिएकी थिएँ। आजको कार्यक्रममा पनि म यसै विषयबारेमा निरन्तर जानकारी दिन चाहन्छु।
४८ वर्षीय सोमासुन्दरम दक्षिण भारतीय तामिलनाडु राज्यबाट आउनुभएको हो। तिब्बतमा अनुभव गरेको हरेक पहिलो पटकको कुराले उहाँलाई न्यानो लाग्यो।
उहाँले तिब्बती पोशाक लगाएर पोताला दरबारको चोकबाट प्रत्यक्ष प्रसारण समेत गर्नुभएको थियो।
“म पोताला दरबारको चोकमा प्रत्यक्ष प्रसारण गर्ने पहिलो तमिल हुनुपर्छ। त्यसैले यो सौभाग्यशाली लाग्यो। पोताला दरबारनजिकै लोकप्रिय दही पसलमा मैले पहिलोपटक गेस्टबुकमा आफ्नो अनुभव पनि लेखेँ। ल्हासा वरिपरि लालु सिमसारमा विविध प्रकारका जनावर र वनस्पति छन्। त्यहाँ मैले वर्षभरि सिमसारबारे फोटो खिच्ने फोटोग्राफर पनि भेटेँ। मैले व्यावसायिक फोटोग्राफरसँग फोटोग्राफी सिकेर उहाँको क्यामेराबाट लालु सिमसारको फोटोसमेत खिचेको थिएँ।
सोमासुन्दरम आफ्नो स्तम्भमा यसरी लेख्नुहुन्छ- “यी दश दिनको अनुभव पूर्ण रूपमा लेख्ने हो भने मैले एउटा पुस्तक नै लेख्नुपर्छ। ती खुशीको अनुभव र चलचित्रजस्तै सुन्दर दृश्यले मेरो मनभित्र गढेको छ।”
जापानका होशी कासुआकिओको विचारमा तिब्बतको भ्रमण पहिलेदेखिकै सपना हो। ल्हासाको यात्रामा सबैभन्दा गहिरो अनुभव एउटा मीठो चिया हाउसमा बिताएको एक दिन हो। “यो व्यस्त बिहान होइन, शान्तिपूर्ण रूपमा बिहान सुरू भएको हो। भरिभराऊ ग्राहक रहेको मीठो चिया घरमा मैले गहिरो रूपमा स्थानीय मीठो चिया संस्कृतिको अनुभव गरेको थिएँ। ल्हासावरिपरिका पहाडहरूजस्तै ल्हासावासीहरूले फुर्सत र खुलापनको महसुसबाट नयाँ दिनको स्वागत गर्छन्।” होशी कासुआकिओले भन्नुभयो।