चिनियाँ परराष्ट्र मन्त्रीद्वारा अरब र इस्लामी मुलुकका विदेशमन्त्रीको संयुक्त प्रतिनिधिमण्डलसँग वार्ता
नोभेम्बर २० तारिख चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पोलिटिकल ब्यूरोका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले साउदी अरबका विदेशमन्त्री फैसल बिन फर्हान अलसाउद, जोर्डनका उपप्रधान तथा विदेशमन्त्री अयमान सफादी, इजिप्टका विदेशमन्त्री सामेह हसन शुक्री, इन्डोनेसियाका विदेशमन्त्री रेट्नो लेस्टारी प्रियान्सारी मर्सुदी, प्यालेस्टाइनी विदेशमन्त्री रियाद अल–मलिकी र इस्लामिक सहयोग सङ्गठनका महासचिव हुसेन इब्राहिम ताहाबाट गठित अरब र इस्लामिक मुलुकका विदेशमन्त्रीहरूको संयुक्त प्रतिनिधिमण्डलसँग पैचिङमा भेटवार्ता गर्नुभएको छ।
विदेशमन्त्रीहरूको संयुक्त प्रतिनिधिमण्डलले चीनलाई अन्तर्राष्ट्रिय मध्यस्थताको पहिलो स्टपको रूपमा लिएकोबाट चीनप्रति उच्च स्तरको विश्वास प्रदर्शन गरिएको चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले बताउनुभयो। वाङले अगाडि भन्नुभयो, ‘गाजामा जारी द्वन्द्वलाई यथाशीघ्र बन्द गर्न, मानवीय संकटलाई लचिलो पार्न, बन्दीहरूलाई रिहा गर्न र प्यालेस्टाइनी समस्याको चाँडै, व्यापक, न्यायोचित र स्थायी समाधानका लागि निरन्तर प्रयास गर्न चीन अरब र इस्लामी देशहरूसँग काम गर्न तयार छ।’
उक्त भेट वार्तामा उपस्थित अरब र इस्लामी विदेशमन्त्रीहरूले अरब-इस्लामी संयुक्त विशेष शिखर सम्मेलनको बारेमा जानकारी दिए। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को वर्तमान अध्यक्ष मुलुकको हैसियतले चीनले प्यालेस्टाइन–इजरायल वर्तमान चरणको द्वन्द्वपछि सुरक्षा परिषद्को पहिलो प्रस्ताव प्रस्तुत गरेकोमा प्रशंसा गर्दै प्यालेस्टाइन–इजरायल द्वन्द्व अन्त्य गर्न, प्यालेस्टाइन–इजरायल समस्या समाधान गर्न र निष्पक्षता र न्याय प्राप्त गर्न चीनले अझ ठूलो भूमिका निर्वाह गर्ने अपेक्षा अरब तथा इस्लामिक मुलुकहरूले गरेका छन्।