सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढ्यो
लुक्लाबाट काठमाडौँका लागि विदेशी पर्यटकलाई रू २९ हजार चार सय ८० र नेपालीलाई रू ११ हजार भाडा निर्धारण गरिएको छ। भाडादर विदेशीको बढी भएकाले विमान कम्पनीको पहिलो प्राथमिकतामा विदेशी पर्ने गरेका यात्रुको गुनासो छ। जहाज टिकट पाउन मुस्किल भएपछि कतिपय पर्यटकहरू हिँडेर जिल्ला सदरमुकाम सल्लेरी हुँदै सल्लेरीबाट जीपमार्फत काठमाडौँ फर्किने गरेका छन्।
लुक्ला विमानस्थलमा अहिले झण्डै एक सयको हाराहारीमा जहाजले उडान भर्ने तथा अवतरण हुने गरेका छन्। निजी कम्पनीका तारा, सीता र समिट एयरलाइन्सले मात्रै उडान भर्ने गरेका प्राधिकरणले जनाएको छ। फर्किने पर्यटकको चाप बढेसँगै सुरक्षामा खटिएका नेपाल प्रहरी र पर्यटक प्रहरीको व्यस्तता पनि बढेको छ। कार्यक्षेत्रमा खटिएकाहरू पर्यटकको सुरक्षा र तथ्याङ्क लेखाजोखामा बढी व्यस्त रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो।
“सिजनमा भित्रिनेको चाप थियो, अहिले फर्किने विदेशी पर्यटकको चाप बढी भएकाले नेपाल प्रहरीलाई सोहीअनुसार उनीहरुको सुरक्षामा परिचालन गरिएको छ, चार हजार चार सय १० मिटरको उचाइमा रहेको दिङ्बोचेमा प्रहरी चौकी छ, त्यहाँका प्रहरीले सगरमाथा आधार शिविरसम्म गस्ती गर्छन्”, प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो। सगरमाथा क्षेत्रमा वर्षको दुई सिजनलाई प्रमुख पर्यटकीय समय मानिन्छ। फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक र मङ्सिर मध्यसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ।
सगरमाथा क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ। यो क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो।