सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढ्यो
विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ। चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको राष्ट्रिय समाचार समितिले लेखेको छ।
पछिल्लो एक सातामा जहाजमार्फत सात सय ११ विदेशी पर्यटक लुक्ला ओर्लिंदा दुई हजार चार सय पर्यटकले सगरमाथा क्षेत्र छोडेका नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ। कार्यालयका ‘एटिसी अफिसर’ सञ्जय श्रेष्ठका अनुसार मङ्सिर ४ गते दुई सय २३ जना भित्रिँदा तीन सय ६२, ५ गते एक सय १९ भित्रिँदा तीन सय २० र ६ गते ८० भित्रिँदा तीन सय ७४ जना विदेशी पर्यटक जहाजमार्फत लुक्लाबाट बाहिरिएका छन्। यस्तै मङ्सिर ७ गते ८८ भित्रिँदा तीन सय तीन, ८ गते ५३ पर्यटक भित्रिँदा चार सय ८१ जना, ९ गते एक सय ३६ भित्रिँदा तीन सय तीन जना र १० गते एक सय ३२ पर्यटक भित्रिँदा दुई सय ५७ जना बाहिएका प्राधिकरणको तथ्याङ्क छ।
चिसो अधिक बढेकाले विदेशी पर्यटक सगरमाथा क्षेत्रबाट भ्रमण छोट्याएर फर्किनेक्रम उच्च रहेको पर्यटन व्यवसायी डिकबहादुर दर्नालले बताउनुभयो। कतिपय पर्यटक चिसोले गर्दा माथिल्लो क्षेत्र नपुगी लुक्ला नाम्चेबाट फर्कने गरेका उहाँको भनाइ छ। दर्नालले भन्नुभयो, “पानी जम्न थालेपछि खासै विदेशीहरू माथि जान मान्दैनन्। अहिले चिसो ह्वात्तै बढेको छ, त्यसैले लामो दिनको भ्रमणमा आएकाहरू दिन छोट्याएर फर्किने गरेका छन्।” नाम्चेभन्दा माथिल्लो क्षेत्रमा कात्तिकको सुरुआतमा सामान्य हिमपात भएकाले चिसो बढेको उहाँको अनुमान छ।
“सिजन (पर्यटकीय मौसम) ढल्किएसँगै काठमाडौँ र रामेछापबाट जहाजहरू खाली आउछन् तर यहाँबाट फर्किंदा जहाजमा यात्रुको घुइँचो हुन्छ। कतिपय अवस्थामा टिकट पाउन मुस्किल छ, यो बेला भ्रमण छोट्याएर फर्किने धेरै विदेशीहरू भएकाले यात्रुको चाप थेगिनसक्नु छ”, प्राधिकरणका एटिसी अफिसर श्रेष्ठले भन्नुभयो। उहाँका अनुसार काठमाडौँ तथा रामेछापको मन्थलीबाट कार्गो लिएर आएका जहाजहरूले पर्यटक लिएर फर्कने गरेका छन्। लुक्ला आउने पर्यटक यतिबेला सीमित भएकाले अधिकांश जहाजहरूले कार्गो सामग्री लिएर आउने गरेका नागरिक उड्डययन प्राधिकरण लुक्लाले जनाएको छ। यही कारणले पनि फर्किने यात्रुले विमानको टिकट पाउन मुस्किल पर्ने गरेको व्यवसायीहरूले बताउँछन्। लुक्ला आउने टिकट पाउने भए पनि यहाँबाट फर्किने जहाजको टिकट लिन चार/पाँच दिनअघिदेखि बुकिङ गर्नुपर्ने बाध्यता रहेको पर्यटक गाइड पेम्बा शेर्पाले बताउनुभयो। विदेशी पर्यटकको चापका कारण नेपालीलाई टिकट पाउन मुस्किल हुने गरेको उहाँको भनाइ छ।