चिलिमेका तीनवटै आयोजना सम्पन्न : एक सय ६८ मेगावाट थप
सबै आयोजना २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिक अवस्था, विभिन्न आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहे ठूलो बाढी, पहुँच मार्गमा निरन्तर गइरहने पहिरो, कोभिड-१९ को महामारी, सामान आयातमा सिर्जित समस्यालगायतको चपेटामा परेका थिए। यसले गर्दा आयोजनाको निर्माण प्रभावित भएको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले जीर्ण बनेका चिलिमेका आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठूलो उपलब्धि भएको जानकारी दिनुभयो।
भूकम्प, नाकाबन्दी, विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, निर्माण अवधि लम्बिँदा ऋणको ब्याजदर तथा प्रशासनिक खर्च बढ्दा लागतमा केही वृद्धि भएको छ। माथिल्लो साञ्जेन र सञ्जेन गरी दुवै आयोजनाको अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक रु सात अर्ब ३५ करोड थियो। आयोजनाको प्रवद्र्धक साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहले निर्माण अवधिको व्याजबाहेक आयोजनाहरुको लागत रु नौ अर्ब २० करोड हुने अनुमान गरिएको बताउनुभयो। उहाँले लागत अनुमानबमोजिम दुवै आयोजनाको अनुमानित लागत प्रति मेगावाट रु २२ करोड ५० लाख बराबर हुने देखिएको उल्लेख गर्नुभयो। चिलिमेका चारवटै आयोजनाहरुमा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको हो।