चिलिमेका तीनवटै आयोजना सम्पन्न : एक सय ६८ मेगावाट थप
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ। ती जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। तीनवटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सवस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो।
कूल १४ दशमलव आठ मेगावाटको माथिल्लो साञ्जेन, ४२ दशमलव पाँच मेगावाटको साञ्जेन र एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन्। यसमध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रुपमा विद्युत् उत्पादन गरी हालसम्म करिब ३० करोडको विद्युत् बिक्री गरिसकेको छ।
यस्तै, ४२ दशमलव पाँच मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी शुक्रबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रुपमा विद्युत् उत्पादन सुरु गरिएको छ। त्यस्तै, एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई हाल परीक्षणका रुपमा विद्युत् उत्पादन गरिरहेको छ। परीक्षण उत्पादन सफल भएपछि एवं तोकिएको मापदण्ड पूरा गरेपछि साञ्जेन र रसुवागढीको व्यावसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ। दुवै आयोजनाबाट यही महिनाभित्रमा व्यावसायिक रुपमा विद्युत् उत्पादन हुनेछ।
राससका अनुसार नदी प्रवाहमा आधारित ती आयोजनाबाट हिउँदयाममा करिब ८० मेगावाट मात्र विद्युत् उत्पादन हुन्छ। चिलिमे जलविद्युत् कम्पनीको अनुवाइमा दुई सय ७० मेगावाटका चार वटा आयोजना सुरु गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्यभोटेकोसीबाहेक तीन वटा आयोजना सम्पन्न भएका हुन्।