नेपालको कन्ट्री रेटिङ ऐतिहासिक, लगानीको राम्रो अवसर
नेपालले पहिलो क्रेडिट रेटिङमा ऐतिहासिक मूल्यांकन पाएको छ। अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्था फिचले नेपाललाई बीबी माइनस रेटिङ दिएको हो। यसले विदेशी लगानी भित्र्याउन र बाह्य ऋण लिन सहज हुने विज्ञहरूको भनाइ छ। फिचले नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) गरेको हो।
फिच रेटिङ्सले नेपालको दीर्घकालीन विदेशी मुद्रा रेटिङलाई बीबी माइनस प्रदान गरेको छ। पहिलो रेटिङमा नै बीबी माइनस पाउनु सफलता भएको विज्ञहरूले बताएका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो रेटिङले अन्तर्राष्ट्रिय जगतमा नेपालको आर्थिक विकासका लागि आधारहरू रहेको देखाउने बताउनुभयो। विदेशी लगानी र बाह्य ऋण लिन सहज हुने भन्दै गभर्नर अधिकारीले पहिलो रेटिङमा नै बीबी माइनस पाउनु उपलब्धि भएको बताउनुभयो।
दक्षिण एसियामा नै नेपाल भारतपछि दोस्रो राम्रो रेटिङमा पर्नु अर्को सफलता भएको गभर्नर अधिकारीको भनाइ छ। भारतको बीबीबी माइनस रेटिङ रहेको छ।
अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्था फिचबाट नेपालको सार्वभौम साख मूल्यांकन (क्रेडिट रेटिङ)को कार्य अघि बढाइएको थियो। फिचले विदेशी मुद्रा सञ्चिति एवं आर्थिक वृद्धिको प्रक्षेपणलाई सकारात्मक रूपमा लिएको छ। यसले नेपाल आर्थिक जोखिममा छैन, आर्थिक बेइमानी गरेको छैन, सरकारको ऋणको अवस्था व्यवस्थित छ, कुनै पनि बाह्य दायित्व तिर्न सक्छ, स्रोतहरू स्थिर छन्, आर्थिक वृद्धिको सम्भावना छ भन्ने देखाउँछ।
अन्नपूर्णपोष्टका अनुसार रेटिङले नेपालको न्यून र अत्याधिक सहुलियतपूर्ण सरकारी र बाह्य ऋणको बोझ, बलियो बाह्य तरलता र जलविद्युत् क्षेत्रमा भइरहेको वृद्धिलाई पनि सम्भावनाका रूपमा हेरेको छ।
अविकसित अर्थतन्त्रका रूपमा रहेको नेपाल समय–समयमा हुने बाह्य क्षेत्रको अवरोध र प्राकृतिक विपत्तिको चपेटामा रहेको भनेको छ। सशस्त्र द्वन्द्वको अन्त्यपछि सुधार भइरहेको फिचले भनेको छ।