चीनतर्फ थप ४ नाका खुलाएर दक्षिणका मुख्य नाकासँग जोड्ने सरकारको तयारी
ओलाङचुङगोला, किमाथांका, कोरला र हिल्सालाई नयाँ व्यापारिक नाका बनाउनेगरी योजना बनाइएको छ। कोरला र हिल्लामा नाका खोल्न चिनियाँ यसअघि नै तयार भइसकेका छन्। नेपालले किमाथांका र ओलाङचुङगोलामा समेत व्यापारिक नाकाका लागि चीनसँग सहयोग माग्ने तयारी गरेको छ।
यसैबीच विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनसँग व्यापारका लागि २ परम्परागत नाका छन्। अरू ६ वटा भन्सार कार्यालय रहे पनि ती नायब सुब्बाको नेतृत्वमा स्थानीय व्यापारमा केन्द्रित छन्। गत आर्थिक वर्षभरिको तथ्यांक हेर्दा पनि आयातको हिस्सा रसुवा नाकातर्फ ३.८२ र तातोपानी नाकातर्फ २.५३ प्रतिशत छ। त्रिभुवन विमास्थल भन्सारबाट ९.१२ प्रतिशत आयात भएको थियो। करिब ८४ प्रतिशत आयात भारतीय नाकाबाट भएको छ।
चीनबाट गत आर्थिक वर्षमा २ खर्ब ९८ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको थियो। जसमा रसुवागढीबाट ६० अर्ब ९१ करोड र तातोपानी नाकाबाट ४० अर्ब ३४ करोड बराबरको आयात भए। अर्थात् दुई नाकाबाट कूल १ खर्ब १ अर्ब रुपैयाँ बराबरका वस्तु आयात भए।
हाल नेपाल र चीनबीचका २ नाकामध्ये तातोपानी पुग्ने अरनीको राजमार्गको मर्मत-सुधार तथा पहिरो नियन्त्रणसम्बन्धी कार्यको संभाव्यता अध्ययन गर्न चीनसँग सहमति भएको छ। नेपालको बाह्रबिसेबाट उत्तरतर्फ सडक अप्ठेरो छ। रसुवागढी नाका जोड्ने गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक विस्ताको काम हुन सकेको छैन। सडक निर्माणका लागि चिनियाँ पक्षले साइटमा क्याम्प बनाई रहेको आयोजनाले जनाएको छ।