नारायणगढ-बुटवल सडक विस्तारमा ६ वर्षमा तीन पटक म्याद थप
नारायणगढ–बुटवल सडक खण्ड विस्तारका लागि ६ वर्षमा तीन पटक म्याद थपिएको छ। सडक विस्तारका लागि तेस्रो पटक म्याद थप भएपनि निर्माण प्रगति ५३ प्रतिशत कट्न सकेको छैन ।
कान्तिपुर अनलाइनका अनुसार ठेक्का लिने कम्पनीले काममा प्रगति नबढाउँदा ०७९ असोज पहिलो साता आयोजनाले एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिएको थियो । ठेकेदारले काम चाँडै सक्ने प्रतिबद्धता जनाएपछि आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो । तर त्यसअनुसार ठेकेदारले न कामको गति बढाए, न काम नै सके । त्यसमाथि दोस्रो पटक आयोजनाले परामर्शदातामार्फत एनटीसी (नोटिस टु करेक्ट) नोटिस जारी गर्दै तोकिएको समयभित्र काम नसके ठेक्का तोड्ने चेतावनी दिएको छ ।
एनटीसीअनुसार २०२४ डिसेम्बरसम्म एक साइडको काम ७० प्रतिशत सकिसक्नुपर्ने र २०२५ को मार्चसम्म कम्तीमा एक साइडको पूरै काम सकेर यातायातका साधन चल्ने बनाउनुपर्नेछ । तोकिएको सर्तअनुसार काम नभए ठेक्का तोड्नुको विकल्प नहुने सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालले बताउनुभयो। यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो ।
थाहा भएअनुसार निर्माण व्यवसायीले स्थानीय भेन्डर, सप्लायर्सलगायतको डेढ अर्बभन्दा बढी तिर्नुपर्नेछ जसले गर्दा भुक्तानी नपाएकाहरूले काम रोक्नेसम्मको चेतावनी दिँदै आएका छन् । ०७९ साउन २२ भित्र काम सक्ने गरी ०७५ चैत ८ मा ठेक्का सम्झौता भएको थियो । यसलाई दुई खण्डमा विभाजन गरी ठेक्का गरिएको छ । ११३ किमि सडकमध्ये ७० किमि ४ लेन, २९ किमि ४ लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमि ३ लेनको सडक हुनेछ ।
बीचमा ६४ वटा पुल र ४६२ वटा कल्भर्टलगायत संरचना निर्माण गर्नुपर्नेछ । अहिलेसम्म दुई लेन सडक ८० र चार लेन सडक ४० किमि मात्र सडक कालोपत्र भएको छ ।