भैरहवाबाट अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन निजी क्षेत्रको आग्रह
भैरहवाबाट शुरु भएको अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन निजी क्षेत्रले आग्रह गरेका छन्। उनीहरूले यसको निरन्तरताको लागि आफ्नो भूमिका पूरा गर्ने बताउँदै पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय महत्वको क्षेत्रलाई यसले ठूलो प्रभाव पार्ने बताएका नेपाल प्रेस अनलाइनले लेखेको छ। विश्व शान्तिको केन्द्र मानिएको लुम्बिनीलाई केन्द्र मानेर यो विमानस्थललाई विश्व बजारमा अगाडि लैजान सकिने उनीहरूको भनाइ थियो।
नेपाल टुर एन्ड ट्राभल एशोसिएन नाट्टा लुम्बिनीले आयोजना गरेको अन्तरक्रियामा सहभागीहरूले अब अन्तर्राष्ट्रिय उडानको निरन्तरतामा ध्यान दिनुपर्ने उल्लेख गरे। कार्यक्रममा नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्तले विमानस्थल चलाउनको लागि ट्राभल एजेन्टका साथै, होटल व्यवसायी, यातायात व्यवसायी लगायतले पनि भूमिका खेल्नुपर्ने बताउनुभयो। नाट्टा लुम्बिनीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद अधिकारी सागरले उडान भएको तर यात्रुमैत्री पूर्वाधारहरू विमानस्थलमा तयार नभइसकेको बताउनुभयो।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले काठमाडौँ केन्द्रित सोचाइको कारण नयाँ विमानस्थल सञ्चालन हुन गाह्रो भएको बताउनुभयो। उहाँले काठमाडौं केन्द्रित सोचाइको लागि बाहिरका व्यवसायीले दबाब दिनुपर्ने उल्लेख गर्नुभयो।
नाट्टा गण्डकीका निवर्तमान अध्यक्ष हरेराम अधिकारीले भैरहवा विमानस्थल चलाउन आफ्नो प्रदेशको पनि साथ रहने उल्लेख गर्नुभयो। गण्डकीकी उपाध्यक्ष संगिता पौडेलले विमानस्थल चलाउन प्याकेज बिक्री गर्नुपर्ने बताउनुभयो। नाट्टा सुदूरपश्चिम अध्यक्ष पंकजविक्रम सिंहले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुँदा आफ्नो प्रदेशलाई पनि फाइदा हुने धारणा राख्नुभयो।