नेपाली

चियाको निर्यातमा उछाल

CRIPublished: 2024-11-16 16:42:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अन्तर्राष्ट्रिय व्यापारमा केही वर्षयता तीव्र उतारचढाव बेहोरेको नेपाली चिया (सिटिसी) को निर्यातमा उछाल आएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा नेपाली चियाको निर्यात मूल्य र परिणामका हिसाबले करिब ५० प्रतिशतले बढेको गोरखापत्र अनलाइनले लेखेको छ।

भन्सार विभागका अनुसार साउनदेखि असोजसम्म नेपालबाट एक अर्ब ७३ करोड रुपियाँको चियाको निर्यात भएको छ। यससँगै नेपालबाट धेरै निर्यात हुने वस्तुको सूचीमा चिया दोस्रो स्थानमा उक्लिएको छ। त्यसअघि आव २०८०/८१ को सोही अवधिसम्म एक अर्ब २० करोड रुपियाँको चिया निर्यात भएको थियो।

यस हिसाबले तीन महिनामै चिया निर्यात ५२ करोड रुपियाँले बढेको तथ्याङ्कले देखाउँछ। त्यसअघि आव २०७९/८० मा एक अर्ब २६ करोड रुपियाँको चिया निर्यात भएको थियो।

खासगरी भारतीय बजारमा नेपाली चियाको माग बढेपछि निर्यात बढेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता डा. दीपक खनालले बताउनुभयो। “भारतीय चियाका बोट पुराना हुँदै जाँदा उत्पादन घटेकाले त्यहाँबाट माग बढेको पाइएको छ,” उहाँले भन्नुभयो। २० औँ वर्ष पुराना त्यस्ता बोटबाट राम्रो चिया नहुने भएकाले भारतीय व्यवसायीले नेपाली चियाको खोजी गरेको उहाँको भनाइ छ। भारत विश्वमा धेरै चिया खपत हुने मध्येमा पर्छ। त्यसमा पनि सिटिसी चियाको खपत त्यहाँ धेरै हुन्छ।

सिटिसी चिया उत्पादनका लागि चर्चित भारतको दार्जिलिङलगायतका क्षेत्रमा नै उत्पादन घटेपछि नेपालतर्फको माग बढेको प्रवक्ता खनालले जानकारी दिनुभयो।

“जलवायु परिवर्तनको असरले पनि दार्जिलिङ जस्ता चिया धेरै उत्पादन हुने क्षेत्रमा नै चिया उत्पादन घटेका खबर आइरहेका छन्,” उहाँले भन्नुभयो। भारतको आन्तरिक बजारलाई नै धेरै चिया चाहिने र विश्व बजारमा समेत दार्जिलिङ चिया भनेर गरिरहेको निर्यातमा समेत असर परेपछि नेपाली चियाको निर्यात बढेको उहाँले बताउनुभयो। माग अनुसार चियाको आपूर्ति कम भएपछि भारतले कुनै किसिमको शुल्क नलगाई नेपाली चिया आयात गरिरहेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn