पर्यटक आकर्षित गर्ने योजना
स्थानीय भगत यादवका अनुसार तालमा साइबेरियालगायत टाढा टाढादेखि विभिन्न प्रजातिका चरा जाडोयाममा आउने र गर्मी लागेपछि फर्केर जाने गर्छन् । हिमाली क्षेत्रमा जाडो बढ्न थालेपछि गैँडहवा तालमा चरा आगमनमा वृद्धि हुन्छ भने ती चरा तराईमा गर्मी नहुन्जेल बस्ने गर्छन् ।
तालमा अहिले पनि विभिन्न स्थानीय ५० प्रजातिका चराचुरुङ्गीको वासस्थान रहेको छ । ताल वरिपरिको क्षेत्रमा बोट प्लेटफर्म निर्माण, ताल गहिरो बनाउने, तालको चारैतर्फ ट्र्याक चौडा बनाउने, चारैतिर ग्राभेलिङ भएको छ ।
कञ्चन गाउँपालिकाबाट ताल घुम्न आएका रमेश आचार्यले ताल किनारको सरसफाइमा ध्यान दिने र तालमा आउने चराचुरुङ्गीलाई आहाराको समेत व्यवस्था गर्ने हो भने ताल सिमसार क्षेत्र बन्ने बताउनुभयो ।