बाढीपहिरोका कारण केरुङमा रोकिएका कन्टेनर भित्रिन थाले
बाढीपहिरोका कारण तिब्बतको खासामा रोकिएका मालवाहक कन्टेनर मंगलबार बिहानबाट नेपालको रसुवागढी नाका भित्रिन थालेका छन्। बाढीपहिरोले रसुवा नाकाको केरुङतर्फको २४ किलोमिटर सडक क्षतिग्रस्त भएपछि दसैं, तिहार र छठका लागि झिकाइएका व्यापारिक मालबस्तु एक महिनादेखि रोकिएको कान्तिपुर दैनिकले लेखेको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बिहानबाट कन्टेनर तथा साना गाडी नेपाल भित्रन थालेको जानकारी दिनुभएको हो। चिनियाँ अधिकारीहरुले सामानसहित १३ टन तौल भएका मालवाहक गाडी मात्र एकतर्फी आउजाउ गर्नसक्ने सूचना सोमबार नेपाललाई पठाएको थियो।
चिनियाँ अधिकारीहरुले दिएको सूचना उद्दृत गर्दै प्रजिअ पौडेलले कन्टेनरहरु बिहान केरुङबाट नेपाल आउने र बेलुकी नेपालबाट सामान बोक्ने खाली कन्टेनर केरुङ जाने तालिका मिलाइएको छ। बिहान केरुङबाट सामान लोड गरेका कन्टेनर तथा साना गाडी कम्तिमा ५० वटा भित्रने सूचना प्राप्त भएको रसुवा भन्सार अधिकृत तथा सूचना अधिकारी रविन्द्र प्याकुरेलले जानकारी दिनुभयो।
केरुङको गोदाममा राखेका र कन्टेनरमा लोड गरेको व्यापारिक मालबस्तु हजारौं टन छन्। सीमित तौलको सामान बोकेको कन्टनेर मात्र आउजाउ गर्न पाउने भएकाले नेपाली व्यवसायीको मालबस्तु सहज रुपमा नेपाल भित्रिन धेरै समय लाग्न सक्छ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले केरुङका ६ सय भन्दा बढी कन्टेनर सामान रहेको बताउनुभयो। फलफूलका कन्टेनर २० टनसम्म हुने भएकाले तोकिएको तौल न्यून भएको उहाँले बताउनुभयो। फलफूलका कार्टुन सानो गाडीमा लोड गरेर ल्याउँदा भाडा महँगो पर्ने उहाँले भन्नुभयो। बाढी अघि एक नेपाली कन्टेनर सामान काठमाडौं ल्याउने ढुवानी भाडा ९० हजार रहेकोमा अहिले २ लाख पुर्याइएको गुनासो व्यवसायीहरूको रहेको छ।