हिमाली केसरको तराईमै उत्पादन
परीक्षण उत्पादनमा सफल भएकाले अब व्यवसायलाई बढाउँदै उत्पादनलाई ब्रान्डिङ गरेर बजारमा लग्ने तयारी गरिरहेको अधिकारीले बताउनुभयो। उहाँका अनुसार राम्रोसँग हुर्किएको केसरको बिरुवाले रोपेको तीन सातादेखि उत्पादन दिन सुरु गर्छ।
कोठामा हावा र प्रकाशको तापक्रम व्यवस्थापन गरेर केसरको व्यावसायिक उत्पादन गरिरहेको उहाँले जानकारी दिनुभयो। केसर एक बहुमूल्य तथा दुलर्भ वनस्पति भएको भन्दै उहाँले यो लसुन वा प्याजको आकारको सेतो गानाबाट खेती गर्न सकिने बताउनुभयो।
पोथ्रो जातको यो वनस्पतिको फूल निलो र सुन्दर देखिन्छ। विश्व बजारमा केसरको मूल्य प्रतिकेजी आठदेखि १० लाख रुपियाँ रहेको छ। विवेकका बुवा नीमकान्त अधिकारीले छोरा कृषि पढेको र आफ्नै ठाउँमा केही गर्छु भनेर लागेकाले खुसी लागेको बताउनुभयो। पछिल्लो समय युवामा १२ कक्षा उत्तीर्ण भएपछि विदेश जाने क्रम बढेका बेला छोराले नयाँ खालको व्यवसाय गर्न आँट गरेपछि लगानीमा सहजीकरण गरिदिएको उहाँले बताउनुभयो। “छोरोले नेपालमा केसरको व्यावसायिक उत्पादनसँगै बजारको सम्भावना राम्रो देखेर उत्पादनमा लागेको छ। हामीले सहयोग गरिरहेका छौ,” उहाँले भन्नुभयो।
केसरलाई दुध, मह वा पानीमा घोलेर सेवन गर्न सकिन्छ। यसको सेवनले शरीरमा ऊर्जा प्राप्त हुनुका साथै अनेक रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ। जिल्लामा भएको उत्पादन काठमाडौँ, पोखरा, बुटवल, चितवनलगायतका ठाउँमा बिक्री गर्ने योजना रहेको अधिकारीले बताउनुभयो।