सूचना प्रविधि सेवा निर्यातबाट दुई महिनामा ३ अर्ब प्राप्त
उक्त अध्ययनका आधारमा सन् २०२२ मा सूचना प्रविधि सेवा निर्यातबाट देशको कुल गार्हस्थ्य उत्पादनमा १.४ र वैदेशिक मुद्रा सञ्चितिमा ५.५ प्रतिशत योगदान देखिएको छ पर्यटन, जलविद्युत्, विप्रेषणसँगै आईटी सेवा निर्यातले पनि नेपालको जीडीपी, विदेशी मुद्रा सञ्चिति र समग्र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको आईआईडीएस अध्ययनको निष्कर्ष थियो।
नेपालबाट सूचना प्रविधि सेवा निर्यातमार्फत ठूलो आम्दानीको सम्भावना रहेकाले त्यो अवसरबाट लाभ लिनका लागि राज्यस्तरबाट प्रोत्साहनका कार्यक्रम आउनुपर्ने आईआईडीएसकी कन्सल्टेन्ट अमृता शर्मा बताउनु हुन्छ।
उक्त प्रतिवेदनले सन् २०२२ सम्म नेपालमा ७ हजार ६ सय ३७ वटा आईटी कम्पनीमध्ये १ सय ६ वटाले सेवा निर्यात गर्ने र यसमा १४ हजार ७ सय २८ फ्रिलान्सरसहित ६६ हजार ५ सय ९ जना आईटीसम्बन्धी काम गर्ने जनशक्ति रहेको जनाएको छ।
नेपालबाट निर्यात हुने आईटी सेवाहरूमा प्रोग्रामिङ, कोडिङ, डिजाइनिङ, सफ्टवेयर डेभलपमेन्ट र टेस्टिङ मुख्य छन्। नेपाली कम्पनीमध्ये ७८ प्रतिशतले प्रोजेक्टमा आधारित काम पाउने गरेका छन्। ७७.८ प्रतिशत नेपाली कम्पनीले अमेरिकाबाट काम लिइरहेको अध्ययनले देखाएको छ।
नेपालमा आईटी जनशक्तिको सीप, योग्यता बढाउँदै उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटलगायत पूर्वाधारमा लगानी गरेर आउटसोर्सिङ र फ्रिलान्सरको उत्पादकत्व वृद्धि गर्न सक्ने प्रतिवेदनले औंल्याएको छ। सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहक क्षेत्रका रूपमा स्थापित गर्दै नवीनतम प्रविधि अवलम्बन गर्न कानुनी आधार तयार गर्ने कार्यक्रम पनि सरकारले अघि सारेको कान्तिपुर दैनिकले लेखेको छ।