सूचना प्रविधि सेवा निर्यातबाट दुई महिनामा ३ अर्ब प्राप्त
नेपालले सूचना प्रविधि सेवा निर्यात गरेर दुई महिनामा ३ अर्ब रुपैयाँ प्राप्त गरेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ। राष्ट्र बैंकको गत भदौको मासिक प्रतिवेदन अनुसार गत साउन र भदौमा ३ अर्ब ७ करोड रुपैयाँ बराबरको सूचना प्रविधिसम्बन्धी वस्तु तथा सेवा निर्यात भएको छ।
चालु आर्थिक वर्षको दुई महिनामा यो शीर्षकमा नेपाल भित्रिएको रकम गत वर्षको सोही अवधिको भन्दा ५६ करोड ८४ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको पहिलो दुई महिनामा सूचना प्रविधिसम्बन्धी वस्तु तथा सेवा निर्यातमार्फत २ अर्ब ५० करोड ४३ लाख रुपैयाँ नेपाल भित्रिएको थियो। पछिल्ला वर्षहरूमा सूचना प्रविधि क्षेत्रले नेपाललाई राम्रो लाभ दिइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन्। खासगरी विभिन्न प्रकारका सफ्टवेयरको विकासमा नेपाली जनशक्ति अब्बल रहेको र उनीहरूको काम (प्रडक्ट) अन्य देशहरूमा निकै रुचाइएको अध्ययन प्रतिवेदनहरूले औंल्याएका छन्।
यही कारण सूचना प्रविधि, कम्प्युटरलगायत सूचना र सञ्चारसम्बन्धी सेवा निर्यातमार्फत नेपालले राम्रो आम्दानी प्राप्त गरिरहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले पनि पुष्टि गरेको छ। प्रतिवेदनका अनुसार गत साउनमा मात्र सूचना प्रविधि, कम्प्युटरलगायत सूचना र सञ्चारसम्बन्धी सेवा निर्यातबाट १ अर्ब १४ करोड रुपैयाँ नेपालले प्राप्त गरेको थियो। इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले गत वर्ष गरेको एक अध्ययनले नेपालमा आईटी क्षेत्रले वार्षिक ६७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ (५१५ मिलियन डलर) आम्दानी गरिरहेको देखाएको छ।
नेपालमै बसेर विदेशीलाई सूचना प्रविधि सेवा निर्यात गरिरहेका करिब साढे ६६ हजार आईटी जनशक्तिमार्फत वार्षिक ६७ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको प्रतिवेदनले देखाएको हो। यसरी नेपाल भित्रिएकोमध्ये धेरै रकम अनौपचारिक स्रोतबाट आएको देखिन्छ। ती कारोबारलाई औपचारिक प्रणालीमा समेट्न सके नेपाललाई धेरै लाभ हुने जानकारहरू बताउँछन्।