कृष्णसारको सङ्ख्यामा बढोत्तरी
सन् १९७० को दशकमा नेपालबाट कृष्णसार लोप भइसकेको अनुमान गरिएको थियो। १९७५ मा बर्दियाको खैरापुरमा कृष्णसार देखिएपछि कृष्णसार संरक्षण गर्ने र स्थानान्तरण गरेर सङ्ख्या बढाउने कार्यको थालनी भएको थियो। १९७७ देखि १९८९ सम्म बर्दिया राष्ट्रिय निकुञ्जको बघौराफाँटामा १६ वटा, १९८५ देखि १९८८ सम्म थप चार र १९९२ मा २६ वटा कृष्णसार स्थानान्तरण गरिएको थियो। यद्यपि त्यहाँ कृष्णसार बाँच्न नसकेको जनाइएको छ।
सन् २००९ मा बर्दियाको गुलरिया नगरपालिकास्थित १६.९६ हेक्टरलाई कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेर त्यहाँ संरक्षणको कार्य जारी राखिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले कृष्णसारलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ।