कृष्णसारको सङ्ख्यामा बढोत्तरी
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा संरक्षित वन्यजन्तु कृष्णसारको बढोत्तरी भएको छ। कृष्णसारको संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यका साथ हिरापुरमा ५८.८ हेक्टर फाँटलाई तारबार गरेर कृष्णसारको बासस्थान क्षेत्र बनाइएको छ।
हाल, कृष्णसारको सङ्ख्या बढेर २९५ पुगेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। “निकुञ्जको हिरापुरमा झन्डै तीन सयको हाराहारीमा कृष्णसार पुगेका थिए,” उहाँले भन्नुभयो, “तर भदौ, असोजमा गरेर १२ वटा मरे ।” मनसुन सकिने बेला हरेक वर्ष अलि बढी नै कृष्णसार मर्ने गरेको जनाइएको छ । मरेका कृष्णसारको ल्याब परीक्षण गर्दा कुनै पनि रोग पुष्टि नभएको सहायक संरक्षण अधिकृत ऐरले बताउनुभयो । “बढी जसो वृद्ध भाले कृष्णसार मरे,” उहाँले भन्नुभयो, “ल्याब जाँच गर्दा कुनै पनि रोग पुष्टि नभएकाले प्राकृतिक कारणले नै मरेका हुन् ।”
१२ वर्षअगाडि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सर्वप्रथम ४२ वटा कृष्णसार स्थानान्तरण गरी ल्याइएको थियो। त्यसको तुलनामा अहिले शुक्लाफाँटामा सात गुणाले कृष्णसार बढेका छन्। सन् २०१२ मा हरियो वन कार्यक्रमको साझेदारीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सदर चिडियाखानाबाट छ र नेपालगञ्ज मिनी चिडियाखानाबाट २२ गरी पहिलो पटक २८ वटा कृष्णसार शुक्लाफाँटा पुर्याएको थियो। त्यसपछि २०१५ मा बर्दियाको खैरापुरबाट थप १४ वटा कृष्णसार शुक्लाफाँटामा स्थानान्तरण गरी सङ्ख्या ४२ पुर्याइएको थियो।
१९६० को दशकमा शुक्लाफाँटाको हिरापुर क्षेत्रमा कृष्णसार देखा परेको स्थानीयका भनाइलाई आधार मानेर यहाँ कृष्णसार बाँच्न सक्ने भन्दै विभिन्न ठाउँबाट कृष्णसार स्थानान्तरण गरी ल्याइएको थियो। स्थानान्तरण गरिएको छोटो समयमा यहाँ कृष्णसारको सङ्ख्या उत्साहजनक रूपले बढेको ऐरले बताउनुभयो।