उपसभामुख र हपै प्रान्तीय जनकांग्रेस स्थायी समितिका उपाध्यक्ष बीच भेटवार्ता
नेपालको प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना र चीनको हपै प्रान्तीय जनकांग्रेसको स्थायी समिति उपाध्यक्ष चाङ मेइच बीच भेटवार्ता भएको छ।
चीनको १४ औं राष्ट्रिय जन कांग्रेसको स्थायी समितिको सदस्यसमेत रहनुभएका हपै प्रान्तीय जन कांग्रेसको स्थायी समितिको उपाध्यक्ष चाङ मेइच र उपभामुख राना बीच बिहीबार संसद् सचिवालयस्थित उपसभामुख रानाको कार्यकक्षमा भेटवार्ता भएको गोरखापत्र अनलाइनले लेखेको छ।
भेटमा उपसभामुख रानाले चीन र चिनियाँ जनताले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गरेकोमा कृतज्ञता व्यक्त गर्दै चीन सधैँ नेपालको भरपर्दो साझेदार रहेको बताउनुभयो। उहाँले नेपालमा दैवी प्रकोपलगायतका कठिन घडीमा चिनियाँ पक्षबाट प्रदान गरिएको उदार सहयोगको कदर गर्दछौं भन्नुभयो।
‘‘हाम्रो सदियौं पुरानो मित्रता र लामो समयदेखिको सहयोगलाई अभिवृद्धि गर्न नेपाल र चीनले सँगै काम गर्न सक्ने थुप्रै क्षेत्रहरू छन्।’’ उहाँले भन्नुभयो, ‘‘हामी दुई देश र जनताको पारस्परिक हितमा नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा लैजान तत्पर छौं।’’
नेपालको प्रमुख विकास प्राथमिकताहरूमा कृषि, जलविद्युत् र पूर्वाधार विकास, कनेक्टिभिटीका सबै मोड, निर्यात प्रवर्द्धन, औद्योगिक उत्पादन, विदेशी लगानी र पर्यटन क्षेत्रहरू समावेश रहेको उल्लेख गर्दै उपसभामुख रानाले नेपालका प्राथमिकताका क्षेत्रहरूमा मिलेर काम गर्न सकिने धारणा पनि राख्नुभयो।
उहाँले रोजगारीका अवसर सिर्जना गर्ने र आर्थिक वृद्धि, प्रगति र समृद्धिलाई सहयोग गर्ने उद्देश्यले विकासका प्राथमिकताका क्षेत्रमा चिनियाँ सहयोग र लगानीलाई नेपालले सधैं स्वागत गर्छौ भन्नुभयो। दुई देशका विचमा संसदीय अनुभव आदनप्रदानका लागि पनि यो भेट महत्त्वपूर्ण हुने उपसभामुख रानाले विश्वास व्यक्त गर्नुभयो।