नेपाली र चिनियाँ अनुवादका लागि छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक
चिनियाँ–नेपाली शास्त्रीय ग्रन्थको अनुवाद एवम् प्रकाशन कार्यक्रमअन्तर्गत पहिलो चरणमा छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक भएका छन्। चीनको छङ्तु (छेङ्दु) मा आयोजित विशेष समारोह बीच दुवै पक्षका विज्ञ समितिका अध्यक्ष एवम् सदस्यहरूको उपस्थितिमा १३ नेपाली र १३ चिनियाँ पुस्तक सार्वजनिक गरिएको गोरखापत्र अनलाइनले लेखेको छ।
नेपाली विज्ञ समितिका अध्यक्ष एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईसहितको पाँच सदस्यीय नेपाली टोली कार्यक्रममा सहभागी हुन छङ्तु पुगेको थियो। टोलीमा नेपाली विज्ञ समितिका सदस्य एवम् प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यद्वय डा. कृष्णराज अधिकारी र हंसावती कुर्मी, प्रतिष्ठानकै शाखा अधिकृत रवीन्द्र तिमसेना एवम् चिनियाँ मामिला जानकार किरण गौतम सहभागी हुनुहुन्थ्यो।
नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र चीनको नेसनल एड्मिनिस्ट्रेसन अफ प्रेस एन्ड पब्लिकेसनबिच सन् २०२३ को सेप्टेम्बरमा दुई देशका शास्त्रीय ग्रन्थ अनुवाद एवम् प्रकाशनसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएयता दुवैतर्फ विज्ञ समिति गठन भएर कार्य अघि बढेको हो। अनुवाद एवम् प्रकाशनका लागि नेपाली पक्षले नेपाल प्रज्ञा–प्रतिष्ठानलाई र चिनियाँ पक्षले सिन्ह्वा विन्सेयर पब्लिसिङ एन्ड मिडिया कम्पनी लिमिटेडलाई जिम्मेवारी प्रदान गरेको छ।
पाँच वर्षमा नेपाल र चीनका कम्तीमा २५/२५ ओटा पुस्तक एकअर्काका भाषामा अनुवाद एवम् प्रकाशन गर्ने योजनाअन्तर्गत चिनियाँ भाषामा अनुवाद एवम् प्रकाशनका लागि पहिलो चरणमा छानिएका लक्ष्मीप्रसाद देवकोटाको लक्ष्मी निबन्ध सङ्ग्रह, दौलतविक्रम विष्टको चपाइएका अनुहार, भीष्म उप्रेतीको हिमाल, शेर्पा र यति, बाबुराम आचार्यको नेपालको सङ्क्षिप्त वृत्तान्त, डा. हर्क गुरुङको मैले देखेको नेपाल, ध्रुवचन्द्र गौतमको अलिखित, डा. राजु अधिकारीको यस्तो होस् जीवनशैली, सरुभक्तको चुली, सुलोचना मानन्धरको जीवनबाट जीवन सिकौँ, सत्यमोहन जोशीको कलाकार अरनिको, मञ्जुलको जाने होइन दाइ आलापोट ?, जनकलाल शर्माको हाम्रो समाज: एक अध्ययन, डोरबहादुर विष्टको सबै जातको फूलबारी गरी १३ नेपाली पुस्तक सार्वजनिक गरिएको हो।