कृषि क्षेत्र अर्थतन्त्रको मुख्य अङ्ग: नेपालका प्रधानमन्त्री केपी शर्मा ओली
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्र अर्थतन्त्रको मुख्य अङ्ग भएको बताउनुभएको छ। बुधबार ४४ औँ विश्व खाद्य दिवसको अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले मुलुकका ठूलो जनसङ्ख्या कृषिमा संलग्न हुने गरिबी र भोकमरीबाट त्यही संलग्न नागरिक पीडित हुने दुःखद अवस्था रहेको बताउनुभएको हो।
‘‘नेपालमा करिब ६२ प्रतिशत परिवार कृषिमा संलग्न रहेको भए तापनि हामी खाद्यान्नको अभाव परिपूर्तिका लागि खाद्यान्नको आयात गरिरहेका छौं। अझै हाम्रा दिदीबहिनी, दाजुभाइहरू गरिबी, अभाव र भोकमरीको जिन्दगी बाँचिरहेका छन्।,’’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘यति उर्वर धर्तीमा यस्ता मिहिनेती जनता यस्तो हालतमा हुनु जति दुःखदायी विषय अरू केही हुँदैन। त्यसैले वर्तमान सरकारले यो अवस्थाको अन्त्य गर्नका लागि सबै प्रयास केन्द्रित गरेको छ। अझै पनि १३ प्रतिशत जनसङ्ख्या तथा ४२ जिल्ला खाद्य असुरक्षाको स्थितिमा छन्। हामी यसको दीर्घकालीन अन्त्य गर्न चाहन्छौं।’’
उहाँले प्रविधि र उद्यमशीलताको विकास गरी कृषिमा अल्झिएको जनसङ्ख्यालाई अन्य क्षेत्रमा जान ‘प्रेरित’गर्ने र त्यसका लागि ‘अनुकूल’ वातावरण सिर्जना गर्ने बताउनुभयो। यसैरी, उहाँले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण मार्फत् उत्पादन बढाई कृषि उपजको निर्यात गर्ने र यसका लागि अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसमा ठोस कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो।
खानपिनका बानीमा परिवर्तन गरी स्वस्थ र सन्तुलित पोषणयुक्त खानाको अवधारणालाई पनि अगाडि बढाइएको उहाँको भनाइ छ। सबै पालिकामा खाद्य भण्डारको स्थापना गर्न स्थानीय तहसँग समन्वय र सहकार्य भइरहेको छ भने निरपेक्ष गरिबी चाँडोभन्दा चाँडो कसरी हटाउने भन्ने सम्बन्धमा सम्बन्धित मन्त्रालयमा एक संयन्त्र तयार गरी काम अगाडि बढेको छ।