नेपाली

कृषि क्षेत्र अर्थतन्त्रको मुख्य अङ्ग: नेपालका प्रधानमन्त्री केपी शर्मा ओली

criPublished: 2024-10-16 16:01:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्र अर्थतन्त्रको मुख्य अङ्ग भएको बताउनुभएको छ। बुधबार ४४ औँ विश्व खाद्य दिवसको अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले मुलुकका ठूलो जनसङ्ख्या कृषिमा संलग्न हुने गरिबी र भोकमरीबाट त्यही संलग्न नागरिक पीडित हुने दुःखद अवस्था रहेको बताउनुभएको हो।

‘‘नेपालमा करिब ६२ प्रतिशत परिवार कृषिमा संलग्न रहेको भए तापनि हामी खाद्यान्नको अभाव परिपूर्तिका लागि खाद्यान्नको आयात गरिरहेका छौं। अझै हाम्रा दिदीबहिनी, दाजुभाइहरू गरिबी, अभाव र भोकमरीको जिन्दगी बाँचिरहेका छन्।,’’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘यति उर्वर धर्तीमा यस्ता मिहिनेती जनता यस्तो हालतमा हुनु जति दुःखदायी विषय अरू केही हुँदैन। त्यसैले वर्तमान सरकारले यो अवस्थाको अन्त्य गर्नका लागि सबै प्रयास केन्द्रित गरेको छ। अझै पनि १३ प्रतिशत जनसङ्ख्या तथा ४२ जिल्ला खाद्य असुरक्षाको स्थितिमा छन्। हामी यसको दीर्घकालीन अन्त्य गर्न चाहन्छौं।’’

उहाँले प्रविधि र उद्यमशीलताको विकास गरी कृषिमा अल्झिएको जनसङ्ख्यालाई अन्य क्षेत्रमा जान ‘प्रेरित’गर्ने र त्यसका लागि ‘अनुकूल’ वातावरण सिर्जना गर्ने बताउनुभयो। यसैरी, उहाँले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण मार्फत् उत्पादन बढाई कृषि उपजको निर्यात गर्ने र यसका लागि अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसमा ठोस कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो।

खानपिनका बानीमा परिवर्तन गरी स्वस्थ र सन्तुलित पोषणयुक्त खानाको अवधारणालाई पनि अगाडि बढाइएको उहाँको भनाइ छ। सबै पालिकामा खाद्य भण्डारको स्थापना गर्न स्थानीय तहसँग समन्वय र सहकार्य भइरहेको छ भने निरपेक्ष गरिबी चाँडोभन्दा चाँडो कसरी हटाउने भन्ने सम्बन्धमा सम्बन्धित मन्त्रालयमा एक संयन्त्र तयार गरी काम अगाडि बढेको छ।

विद्यालय जान नपाएका, पढ्न नपाएका, जाडोमा न्यानो लुगा लगाउन नपाएका, वर्षामा ओत लाग्ने छानो नभएका अनि भोक लागेका बेला खान नपाएका बालबालिका र जनता नै यो सरकारको सबभन्दा प्रमुख चासो, चिन्ता र सरोकारका विषय भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

तराई–मधेशमा आर्थिक रूपमा विपन्न, मधेशी दलित, सामाजिक रुपमा विभेद र भेदभावमा परेका व्यक्ति, विशेष क्षमता भएका, अशक्त, बेसहारा, सङ्क्रमित, आश्रयविहीन, अलपत्र र मनोरोगीहरूलाई मनमा राखेर सरकारले आफ्नो प्राथमिकता तय गरेको छ। प्रधानमन्त्री ओलीले नागरिकका खाद्य अधिकार र खाद्य सम्प्रभुतासम्बन्धी मौलिक हकहरूको परिणाममुखी हुने गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

राम्रो जीवन र राम्रो भविष्यका लागि खान पाउने सबैको अधिकार भन्ने नारासहित बुधबार ४४ औँ विश्व खाद्य दिवस मनाइँदै छ।

Share this story on

Messenger Pinterest LinkedIn