घोडाघोडीमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा पर्यटकको चहलपहल बढेको छ। विश्वजलचर इतिहासमा सङ्कटापन्न दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चराचुरुङ्गीको संरक्षणका कारण यो ताल सन् २००३ मा विश्वरामसार सूचीमा सूचीकृत भएको थियो।
पूर्व–पश्चिम राजमार्गको छेउमा रहेको घोडाघोडी ताल क्षेत्र दुर्लभ चराचुरुङ्गीले विचरण गर्ने शान्त र सुरक्षित बासस्थान भएकाले २७ फागुन २०७८ मा घोडाघोडी क्षेत्रलाई नेपालको पहिलो ‘बर्ड सेञ्चुरी चरा अभय आरक्षण क्षेत्र’समेत घोषणा गरिएको राससले जनाएको छ।
घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाहले दसैँदेखि पर्यटकको चहलपहल धेरै बढेको बताउनुभएको छ। घोडाघोडी ताल क्षेत्रमा पर्यटकलाई प्रवेश गर्नका लागि रु १० तिर्नुपर्छ। टिकट काट्नका लागि पनि दसैँको दिन त हम्मेहम्मे परेको जनाउँदै उहाँले दैनिक पछिल्लो समय आन्तरिक पर्यटक सङ्ख्या बृद्धि भइराखेको बताउनुभयो।
पर्यटकको चहलपहल बढेसँगै ‘फोटोग्राफर’ले पनि राम्रो आम्दानी गर्न थालेका छन्। दसैँभन्दा अगाडि दिनमा एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने गरेको बताउँदै फोटोग्राफर लक्ष्मण सुनारले भन्नुभयो, “दसैँको दिनदेखि ह्वात्तै पर्यटक बढेका छन्। दिनको पाँच हजारसम्म आम्दानी हुने गरेको छ।”
आन्तरिक पर्यटकको चहलपहल बढेसँगै घोडाघोडीका होटेल व्यवसाय पनि फस्टाएका छन्। होटेल व्यवसायी राजु अवस्थीले भन्नुभयो, “चाडपर्वको समयमा मात्रै नभई अन्य समयमा पनि घोडाघोडीमा पर्यटक आइरने वातावरण बनाउनसके हामीलाई आम्दानीको दिगो स्रोत बन्न सक्थ्यो।”
दसैँमा लामो समयसम्म बिदा पनि हुने र अहिलेको मौसम पनि घुम्नका लागि उपयुक्त रहेकाले यो समयमा पर्यटक घोडाघोडीमा घुम्न आउने गरेको पर्यटन व्यवसायी डबल शाह बताउनुहुन्छ।