साहासिक पदयात्राका लागि थोराङ्ला पास
'तिलिचो यात्रा हुँदै थोरङ्ला पास गरेर मुक्तिनाथ झर्नु साहसिक यात्रा हो', श्रेष्ठले भन्नुभयो, 'अन्नपूर्ण सर्किटमा थोरङला सबैभन्दा उच्च स्थान भएकाले जोखिमपूर्ण पनि छ।' चामेदेखि पाँच दिनको यात्रा गरेर थोराङ्ला हुँदै मुस्ताङको मुक्तिनाथ झर्न सकिन्छ। लामो अवधिको पदयात्रा गर्न चाहनेले लमजुङको बेशीसहरदेखि नै यात्रा सुरु गर्न सक्छन्।
धेरैजसो पदयात्रीहरु गाडीबाट चामे पुगेर त्यहाँदेखि हिँड्ने गर्छन्। चामेबाट अपर पिसाङ र मनाङमा बास बस्ने गर्छन्। यहाँ बास बरेर पदयात्रीहरुले शरीरलाई त्यहाँको वातावरणसँग अनुकूलता मिलाउन सकिन्छ। माथिल्लो मनाङदेखि करिब चार घण्टाको पैदलयात्रा गरेर चार हजार ३६ मिटर उचाइको याकखर्क पुगिन्छ। छिनछिनमा बादल र घाम लाग्ने याकखर्कमा चौरीगाईको खर्क छन्। यहाँ इन्टरनेट सुविधा भएका होटल र लज पनि छन्।
याकखर्कदेखि सात दशमलब तीन किलोमिटर यात्रा गरेपछि समुन्द्री सतहदेखि चार हजार चार सय ५० मिटर उचाइमा रहेको थोराङ्ला फेदीमा पुगिन्छ। थोराङ्ला फेदीदेखि चारदेखि पाँच घण्टा यात्रा गरेपछि चार हजार आठ सय छ मिटर उचाइको थोराङ्ला हाइक्यापमा पुगिन्छ।
होटलहरुको सुविधा भएको हाइक्यापमा बास बसेका पर्यटकहरु बिहान उज्यालो नहुँदै थोराङ्लातर्फको यात्रामा निस्कन्छन्। दिउँसो हावाहुरी चल्ने र मौसम खराब हुने भएकाले बिहानै थोराङ्ला पुग्नका लागि रातिनै यात्रा गर्नुपर्ने पथप्रर्दशक सन्देश अधिकारीले बताउनुभयो। हाइक्याम्पदेखि थोराङ्ला हुँदै करिब १३ घण्टाको यात्रा गरेपछि तीन हजार सात सय ६२ मिटर उचाइमा अवस्थित मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथमा पुगिन्छ।
सन् १९७० मा पदयात्राका लागि खुल्ला गरिएको थोराङ्लामा पछिल्लो समय विदेशीसँगै नेपाली पर्यटकहरु पनि आकर्षित भएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोमस्थित कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो। रासस।