गौतमबुद्ध विमानस्थलबाट फ्लाई दुबई, जजिरा र एयर एसियाले उडान गर्दै
फलाई दुबईले कात्तिकदेखि दुबई–भैरहवा र भैरहवा–काठमाडौँ हुँदै दुबई उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो। विमानस्थल उद्घाटन भएको लामो समय भए पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान नहुँदा स्थानीय निजी क्षेत्र निराश भएको छ। सुरुवाती उडान गरेका जजिरा एयरले पनि केही समययता उडान रोकेको थियो।
दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो। तर विभिन्न समस्या देखाएर बीचमा रोकेको थियो। अहिले कुवेतको जजिरा एयरवेज पुनः नियमित उडान गर्ने जानकारी दिइसकेको छ।
त्यसैगरी थाई एयर एसियाले पनि छिट्टै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने योजना बनाएको छ। उक्त एयरलाइन्सको प्राविधिक टोलीले केही दिनअघि गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको थियो।
प्राविधिक टोलीलाई विमानस्थलको लक्ष्य, उडान सञ्चालनका लागि आधारहरु जस्तै: बजार विश्लेषण, अन्य अपरेसनसँग सम्बन्धित अन्य फाइदाको विस्तृत जानकारी दिइएको थियो। यद्यपि, यो एयरलाइन्सले कहिले उडान सुरु गर्ने भन्ने टुङ्गो लागेको छैन।
यही असोज १६ गते नेपालमा सिधा हवाई उडान सुरु गएको थाई एयर एसियाले गौतमबुद्ध विमानस्थलमा पनि उडान सञ्चालन गर्न लागेको हो। एयरलाइन्सले करिब ६० वटा विमानमार्फत एसियाका महत्त्वपूर्ण गन्तव्यमा उडान गरिरहेको छ। नेपाल र थाइल्यान्ड पर्यटनलगायत विभिन्न हिसाबले जोडिएका छन्। वार्षिक ४० हजारभन्दा बढी थाइल्यान्डका पर्यटकले नेपाल भ्रमण गर्ने गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो। सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रुपमा सञ्चालित थियो।