चिनियाँ सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम सम्पन्न गर्न एक वर्ष म्याद थप
अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन् सम्भावनाको टुंगो लाग्नेछ। अन्तिम चरणमा हुने ड्रिलिङलगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन् योजना अघि बढ्ने जनाइएको छ ।
चिनियाँ प्राविधिकको टोलीले २०७६ सालमा स्थलगत अध्ययन गरेको थियो । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिसकेको छ । अहिले ड्रिलिङमार्फत् पेट्रोलियम पदार्थ अन्वेषणको काम भइरहेको हो ।
खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जियोलोजिकल सर्भे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्न दुई अर्ब ४० करोड रुपैयाँ आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो । यो समझदारी कार्यान्वयन गर्न चीन र नेपालले संयुक्त कार्ययोजना बनाएका थिए । पहिलो चरण (दश महिना) मा चीनको विज्ञ टोलीले दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रोलियम सर्भेसहित ड्रिलिङ साइट पहिचानको काम गर्ने समझदारी भएको थियो । दोस्रो चरणमा ड्रिल गर्ने र तेस्रो चरणमा सर्भे प्रतिवेदन बुझाउने सहमति भएको थियो । अहिले वर्षायामका केही दिन काम रोकिए पनि धमाधम काम भइरहेको आयोजनाले जनाएको छ।