नेपालमा पछिल्लो समय विद्युतीय सवारी आयातको क्रम बर्सेनि बढ्दो
सरकारले ०७१ मै वातावरणमैत्री सवारी तथा यातायात नीति जारी गर्दै ०७७ सम्ममा यस्ता सवारीको संख्या २० प्रतिशतभन्दा बढी पुर्याउने लक्ष्य राखेको थियो । वातावरणमैत्री सवारी तथा यातायातका साधनको संख्या २० प्रतिशत पुर्याउने सरकारको यो लक्ष्य कार्यान्वयनमा भने आउन सकेन ।
विद्युतीय सवारी आयातको तथ्यांक हेर्ने हो भने, निजी विद्युतीय सवारीतर्फ २५ प्रतिशत लक्ष्य हासिल गर्न सकिने सम्भावना छ । गत आर्थिक वर्षमा कुल बजारमा निजी विद्युतीय सवारीको हिस्सा ७५ प्रतिशत रहेको विभागको तथ्यांक छ । पेट्रोलियम सवारीको हिस्सा भने २५ प्रतिशत मात्रै रहेको नाडा अटोमोबाइल्स अफ एसोसियसन नेपालका पूर्वअध्यक्ष ध्रुव थापा बताउनुहुन्छ।
०८०/८१ मा ४ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ बराबरको ३९६१ थान इन्धन गाडी आयात भएको भन्सार विभागको तथ्यांक छ । सोही वर्ष २९ अर्ब ४८ करोड २७ लाख रुपैयाँ बराबरको ११ हजार ७ सय १ वटा विद्युतीय सवारी आयात भए । यसै वर्ष १६ करोड ९० लाख रुपैयाँ बराबरका ३६ थान हाइब्रिड सवारी पनि आयात भएको विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७९/८० मा ४ हजार ५० वटा विद्युतीय सवारी आयात हुँदा २८ सय १० वटा मात्रै इन्धन गाडी आयात भए । यस्तै ४८ वटा हाइब्रिड सवारी आयात भएको विभागको भनाइ छ । पछिल्लो तीन वर्षयता विद्युतीय सवारीको आयात बर्सेनि बढ्दै र पेट्रोलियमको घट्दै गइरहेको थापाले जनाउनुभयो।
कान्तिपुर अनलाइनका अनुसार विद्युतीय सवारीको आयात र उपयोग बढेसँगै त्यसका लागि आवश्यक चार्जिङ स्टेसन निर्माणको कामले पनि तीव्रता पाएको छ । मुलुकभर अहिले ५ सयभन्दा बढी चार्जिङ स्टेसन रहेको नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक सागरमणि ज्ञवालीको भनाइ छ । निजी क्षेत्रबाट निर्माण गरिएका ४ सयभन्दा बढी चार्जिङ स्टेसन सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ ।