नेपाली चियाको अन्तर्राष्ट्रिय बजार सुध्रिँदै
यता साँखेजुङ्गस्थित ग्रिन हिल टी इन्डस्ट्रिजले यो वर्ष आठ हजार किलो चिया विदेश निर्यात गरेको छ। इन्डस्ट्रिजले तीन हजार पाँच सय किलो चिया जर्मनी निकासी गरेको इन्डस्ट्रिजका सञ्चालक टङ्क दाहालले बताउनुभयो। उहाँले भन्नुभयो, “माग अनुसारको गुणस्तरीय चिया पु-याउन त गाह्रो छ। यो वर्ष हरियो पत्ती पनि गत वर्षभन्दा कम उत्पादन भएको छ। यो वर्ष भारतमा भन्दा तेस्रो मुलुकमा हाम्रो चियाको माग राम्रो छ।” दाहालका अनुसार ग्रिन हिलमा गत वर्ष ५५ हजार किलो तयारी चिया उत्पादन भएको थियो तर यो वर्ष भने ४० देखि ४२ हजार किलो मात्र तयारी चिया उत्पादन हुने उहाँको अनुमान छ। तेस्रो मुलुकको बजार राम्रो भए पनि भारतमा भने नेपाली चियाको बजार राम्रो नभएको उद्योगीको भनाइ छ।
यता मेची भन्सार कार्यालय काँकडभिट्टाको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब १६ करोड ३८ लाख रुपियाँ मूल्य बराबरको चिया निकासी भएको छ। एक करोड ३४ लाख ३३ हजार ८५८ किलो चिया निकासी भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।