नेपाली

नेपालको वैदेशिक व्यापारमा सङ्कुचन: १५ खर्बको आयात, डेढ खर्बको निर्यात

criPublished: 2024-07-23 16:25:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालको समग्र वैदेशिक व्यापारमा सङ्कुचन आएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा आयात निर्यात दुवैमा गिरावट हुँदा समग्र व्यापार खुम्चिएको हो। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा आयात १.१६ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख झरेको छ। आव २०७९/८० मा १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपियाँ आयात भएको गोरखापत्र अनलाइनले लेखेको छ।

एक वर्षमा निर्यात ३.०३ प्रतिशतले घटेर एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपियाँमा झरेको छ। आव २०७९/८० मा एक खर्ब ५७ अर्ब १४ करोड ६९ लाख रुपियाँको निर्यात भएको थियो।

गएको एक वर्षमा आयात घट्दा व्यापार घाटा ०.९६ प्रतिशतले घटेर १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपियाँको भएको छ। अघिल्लो वर्ष १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपियाँ व्यापार घाटा भएको थियो। गत एक वर्षमा मुलुकको समग्र वैदेशिक व्यापारमा १.३३ प्रतिशतले कमी आई १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपियाँमा सीमित रहेको छ।

व्यापारविज्ञ एवं पूर्वसचिव पुरुषोत्तम ओझाले बजारमा माग न्युन हुँदा आयातमा कमी आएको बताउनुभयो। पाम तेल, सूर्यमुखी तेल र भटमासको तेलको निर्यात घट्दा समग्र निर्यातमा कमी आएको उहाँको भनाइ छ। कच्चा पदार्थ आयात गरी मूल्य अभिवृद्धि (भ्यालु एड) गरेर निर्यात गरिने वस्तुको निर्यातमा कमी हुँदा त्यसको असर नपरे पनि मुलुकमा उत्पादित चिया, अलैँची, कार्पेट, गार्मेन्टको निर्यात घट्दा अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने उहाँको भनाइ छ।

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले रुस–युक्रेन युद्धपछि बाहिरी मुलुकबाट कच्चा पदार्थको आयात कम हुँदा समग्र निर्यातमा कमी आएको जानकारी दिनुभयो। विभागका अनुसार एक वर्षमा सबैभन्दा धरै भारतबाट नौ खर्ब ९६ अर्ब ६८ करोड रुपियाँ बराबरको वस्तु आयात हुँदा नेपालबाट एक खर्ब तीन अर्ब रुपियाँ बराबरको वस्तु निर्यात भएको छ। आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात न्युन हुँदा भारतसँग आठ खर्ब ९३ अर्ब ५० करोड ५१ लाख रुपियाँ व्यापार घाटा छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn