साना व्यवसायमा बढ्यो आकर्षण, ठूलाको लगानी इच्छा घट्यो, वैदेशिक लगानी प्रतिबद्धता १० वर्ष यताकै धेरै
पछिल्ला १२ वटा आर्थिक वर्षहरूमध्ये आर्थिक वर्ष २०७१/७२ मा ६७ अर्ब ४५ करोडको लगानी प्रतिबद्धता प्राप्त भएको थियो। अन्य कुनै पनि वर्षमा ६१ अर्बको लगानी प्रतिबद्धता आएको थिएन। गत वर्ष प्रस्ताव स्वीकृत गरेका वैदेशिक लगानीका परियोजना सञ्चालनमा आउँदा १९ हजार ५६५ जनलाई रोजगारी सिर्जना हुने उल्लेख गरिएको छ।
सरकारले ऐनहरू संशोधन र अन्य प्रक्रियागत ढंगबाट पनि निजी क्षेत्रलाई आकर्षित गरेको प्रभाव उद्योग दर्ता देखिएको विभागका अधिकारीहरूको दाबी छ। असारमा मात्रै ६५ वटा नयाँ उद्योग दर्ता भएका छन्। त्यस्तै, ४८ परियोजनामा विदेशी लगानी स्वीकृत गरिएको छ।
वैशाख महिनामा सरकारले लगानी सम्मेलन गर्नुपूर्व अध्यादेशबाट एक साथ ८ वटा कानुन संशोधन गरेको थियो। उद्योग विभागमा निर्देशक अर्जुन सेन पछिल्ला महिना नयाँ उद्योग सञ्चालनको लागि स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको चासो बढेको बताउनुहुन्छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल पनि लामो समय निजी क्षेत्रमा देखिएको निराशा कम हुन थालेको बताउनुहुन्छ।
विदेशी लगानी प्रतिबद्धताको तुलनामा वास्तविक प्राप्ति निकै न्यून छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अनुसार यो वर्ष जम्मा ८ अर्ब २३ करोड रूपैयाँ लगानी प्राप्ति भएको छ। जबकि गत वर्ष उद्योग विभागबाट मात्रै ३४ अर्ब बढीको लगानी स्वीकृत गरिएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा ५४ अर्बको स्वीकृत गरिएको थियो। लगानी प्रतिबद्धता आउँदाको वर्ष वा उद्योग दर्ताको वर्ष नै सबै लगानी आउँदैन। तर, उद्योग निर्माण तथा सञ्चालन गर्न थालेपछि लगानी आउने गर्छ।